मुख्यमन्त्री सिंहद्वारा जलाद खोलाको अवैध उत्खननको अनुगमन

जनकपुरधाम, २७ चैत । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले धनुषाको मिथिला नगरपालिका–४ स्थित जलाद खोला क्षेत्रको अनुगमन गरेका छन् ।
अनुगमनको क्रममा खोला क्षेत्रमा अवैध रूपमा नदीजन्य पदार्थको उत्खनन भइरहेको थाहा पाएपछि मुख्यमन्त्री सिंहले उक्त क्षेत्रमा कार्यरत सात वटा टिपर र दुई वटा जेसिबी मेसिनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय ढल्केबरको जिम्मा लगाएका छन् ।
मुख्यमन्त्री सिंहका अनुसार जलाद खोला वन क्षेत्रको परिधिमा पर्ने भएकोले त्यहाँ कुनै पनि किसिमको उत्खनन अघि वन नियमावलीअनुसार प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन अनिवार्य हुनु पर्छ । यस सम्बन्धमा प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयबाट स्वीकृति प्राप्त गर्नु आवश्यक छ ।
उनले वन मन्त्रालयको स्वीकृति प्राप्त भएपछि मात्र जिल्लास्तरीय डिभिजन वन कार्यालयबाट सहमति लिएर स्थानीय तहलाई ठेक्का दिन अनुमति प्राप्त हुने प्रक्रिया अघि बढ्ने बताए ।
तर, अनुगमनको क्रममा मिथिला नगरपालिका सरकारले वातावरणीय अध्ययन प्रतिवेदन आफैं स्वीकृत गरेको पाइएको छ । यो विधिको विपरीत हो । यसलाई आधार बनाएर अवैध उत्खनन कार्य अघि बढाइएको पाइएको हो ।
मुख्यमन्त्री सिंहले यस सम्बन्धमा सम्बन्धित ठेकेदारलाई आवश्यक कागजातसहित प्रदेश सरकार अन्तर्गतको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उपस्थित हुन निर्देशन दिएका छन् । साथै, उनले अवैध उत्खननका विरुद्ध कडा कारबाही हुने चेतावनी समेत दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


