नेपाली महिलाको भारतमा हत्या : ३ अभियुक्त पक्राउ, शव पहिचानका लागि प्रहरीको अपिल

जनकपुरधाम, २७ चैत । भारतको महाराष्ट्र राज्यस्थित पालघर जिल्लाको मोखडा प्रहरी स्टेशनले १ अप्रिल २०२५ मा दर्ता गरेको क्राइम रजिस्टर नम्बर ६१/२०२५ अन्तर्गत एक रहस्यमय हत्याको अनुसन्धान गरिरहेको छ ।
यस घटनामा एक अज्ञात महिलाको मृत शरीर मोखडा क्षेत्रमा रहेको नदीको पुलबाट फ्याँकिएको अवस्थामा फेला परेको थियो । प्रारम्भिक अनुसन्धानका अनुसार उक्त महिलाको घाँटी थिचेर हत्या गरिएको थियो । त्यसपछि उनको शवलाई नदीको पुलबाट फ्याँकिएको थियो ।
प्रहरीले यस घटनामा तीन जना प्रमुख अभियुक्तहरूलाई पक्राउ गरेको छ । अभियुक्तहरूमा धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिका बहेडा बेला बस्ने रासविहारी बरहीका २५ वर्षीय छोरा राजकुमार बरही, भारतको मधुबनी जिल्लास्थित अम्ली फवारा सिलवासा फुलहारका ५० वर्षीय सुरेन्द्र रन्शोभीत सिंह र सोही ठाउँ बस्ने ३४ वर्षीय बालाजी अशोक वाघमारे रहेका छन् ।
हत्याको अनुसन्धान गर्दा प्रहरीले अभियुक्त राजकुमार मृतक महिलासँग सम्बन्धमा रहेको जनाएको छ ।
अज्ञात महिलाको पहिचानका लागि प्रहरीले अपिल गरेको छ । अनुसन्धानका क्रममा प्रहरीले मृतकको पहिचान पुष्टि गर्नका लागि आम नागरिकलाई सहयोग गर्न अनुरोध गरेको छ ।
मृतकको पहिलो श्रीमानसँग एक वा दुई सन्तान भएको र उनीहरुलाई महेन्द्रनगरमा उनकी बहिनीको हेरचाहमा राखिएको जानकारी पनि प्राप्त भएको छ ।
मृतकको पहिचान अझै पुष्टि हुन सकेको छैन । धनुषा प्रहरीले उक्त महिलाको पहिचान गर्नमा मद्दत गर्न अपिल गरेको छ । यदि कुनै व्यक्तिलाई यसबारे जानकारी भए धनुषा प्रहरीमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
प्रहरीले यस घटनामा संलग्न अन्य व्यक्तिहरूको पत्ता लगाउन र अन्य विवरणहरूको अनुसन्धान गर्ने कार्य जारी राखेको जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


