चुरे तथा वनजंगल संरक्षण अभियान नेपालको ‘उल्टो विरोध’

काठमाडौं, २७ चैत । चुरे तथा वनजंगल संरक्षण अभियान नेपालले उल्टो विरोध कार्यक्रमको आयोजना गरेको छ ।
विरोध कार्यक्रममा पर्यावरणीय संकटको समाधानको लागि सरकारसँग कडा दबाब राख्ने उद्देश्यले विभिन्न मुद्दामा असन्तुष्टि जनाइएको छ । माइतीघर मण्डलामा भएको विरोध कार्यक्रममा चुरे क्षेत्रको वन र प्राकृतिक स्रोतको विनाश रोक्न माग गरिएको हो ।
कार्यक्रममा मुख्यतः चुरे क्षेत्रको वन र वनजंगलको अन्धाधुंध कटान, अवैध उत्खन्न, माफियासँगको मिलोमतो र सरकारको नकारात्मक नीतिहरूको विरोध गरिएको थियो ।
अभियानका संयोजक सुनिल यादवले यस विरोध प्रदर्शनलाई विभिन्न चरणमा विभाजन गरेको र यसको मुख्य उद्देश्य चुरे क्षेत्रको वन विनाश रोक्नु र दीर्घकालीन समाधानका लागि सरकारसँग दबाब सिर्जना गर्नु रहेको बताए ।
विरोध कार्यक्रमका दौरान कार्यक्रममा प्रस्तुत गरिएको मुख्य नाराहरूमा ‘तिमी मात्र आफै जोगि राख्ने ? कि चुरे वनजंगल र खोला नदी नालालाई पनी जोगाउने हो ?’ र ‘चुरे वनजंगललाई भूमाफिया तथा ग्रेभल माफियासँग बेचिदेउ’ जस्ता कडा शब्दहरू समावेश थिए ।
आन्दोलनका अन्य प्रमुख विरोध बिन्दुहरूमा वन डढेलो नियन्त्रण, प्रदूषण नियन्त्रण, पर्यावरणीय आन्दोलनका शहीद स्व. दिलीप महोतोको सम्मान र सरकारको कमजोर नीतिहरूको आलोचना गरिएको थियो ।
कार्यक्रममा सहभागी केन्द्रीय सदस्य विनोद अधिकारी, वाग्मती प्रदेश संयोजक निरा तिमलसिना, काठमाण्डौ जिल्ला संयोजक लक्ष्मी बस्नेत, सिन्धुपाल चौक जिल्ला संयोजक कविता गुरुङ्ग र सह–संयोजक राधिका लगायतका दर्जनौं कार्यकर्ताले चुरे क्षेत्रको संरक्षणको महत्त्वलाई उजागर गरे ।
यस विरोध कार्यक्रममा, एक विशेष चेतनामूलक नाटक ‘शम्भूको जंगल’ को प्रदर्शन पनि हुनेछ । त्यसमा चुरे वनजंगलको संरक्षणको आवश्यकता र यसको भविष्यमा परेको खतरा देखाइएने छ । यस नाटकमार्फत, चुरे क्षेत्रका समस्याहरूलाई जनसमक्ष ल्याइनेछ र यसको संरक्षणका लागि समाजमा जागरूकता फैलाउने प्रयास गरिनेछ ।
चुरे तथा वनजंगल संरक्षण अभियान नेपालले सरकारसँग यस्तो कदम उठाउनको लागि कडा दबाब सिर्जना गर्ने वाचा गरेको छ । आगामी दिनमा यस आन्दोलनलाई थप प्रभावकारी बनाउनको लागि विभिन्न कार्यक्रमहरूको आयोजना गर्ने तयारी गरेको जनाइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


