जनकपुरधाम, २७ चैत । ‘प्रदेशको समृद्धिको आधार, खेत–खेतमा सिचाइ’ भन्ने नारासहित अघि बढिरहेको मधेश प्रदेश सरकारले धनुषा जिल्लाको बटेश्वर गाउँपालिका–२ स्थित सीतापुर खोरियामा एक महत्वपूर्ण सिचाइ आयोजना अन्तर्गत पावर ड्रिल ट्युवेलको शिलान्यास गरेको छ ।

श्री वनदेवी सिचाइ आयोजना अन्तर्गत स्थापना गरिने उक्त ट्युवेलको शिलान्यास बुधवार एक विशेष समारोहबीच नेपाली कांग्रेसका सह महामन्त्री महेन्द्र यादव र उर्जा, सिचाइ तथा खानेपानी मन्त्री शेष नारायण यादवले संयुक्त रूपमा गरेका हुन् ।

करीब १६ लाख रुपैयाँको लागतमा जडान गरिन लागेको यो ट्युवेल ६ इन्च चौडाइ र १२५ मिटर गहिराइको हुनेछ । उर्जा, सिचाइ तथा खानेपानी मन्त्रालयका ईन्जिनीयर अमलेश यादवका अनुसार यस ट्युवेलको माध्यमबाट सीतापुर खोरिया क्षेत्रका करिब दुई दर्जन साना किसानहरू लाभान्वित हुनेछन् । करिब २० विघा खेतीयोग्य जमिनमा अब नियमित सिचाइ सुविधा उपलब्ध हुने अपेक्षा गरिएको छ ।

स्थानीय स्तरमा सिचाइको अभावका कारण वर्षौँदेखि बाँझो रहेको सयौं विघा जमिन मध्ये केही हिस्सा अब उत्पादनमा आउने विश्वास लिइएको छ । श्री वनदेवी सिचाइ आयोजनाका अध्यक्ष जनार्दन प्रसाद राईले यस आयोजनाबाट किसानहरूले राहतको अनुभूति गर्ने बताए ।

समारोहलाई सम्बोधन गर्दै मन्त्री शेष नारायण यादवले संघीय सरकारको बेवास्ता र विभेदपूर्ण व्यवहारका कारण मधेश प्रदेशमा ठूला सिचाइ तथा खानेपानी आयोजना अलपत्र अवस्थामा रहेको उल्लेख गरे । यद्यपि, न्यून बजेटमै पनि प्रदेश सरकारले साना–साना आयोजना सञ्चालन गरी कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्न अग्रसर रहेको उनले बताए ।

मन्त्री यादवले भने, ‘हामीकहाँ स्रोत सीमित छन् । तर, सम्भावना असीमित । प्रदेश सरकारले किसानमुखी नीति अपनाउँदै सिचाइको पहुँच विस्तारमा कुनै कसर बाँकी राखेको छैन ।’

यस ट्युवेलको स्थापना सँगै किसानहरूले समयमै रोपाइँ गर्न सक्ने, वर्षभरि दुईदेखि तीन पटक बाली लिन सक्ने र कृषि उत्पादनमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ ।