कलैया उपमहानगरमा सेनिटरी प्याड खरिदमा अनियमितता, पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा

बारा, २६ चैत । बाराको कलैया उपमहानगरपालिकामा सेनिटरी प्याड खरिदमा अनियमितता र भ्रष्टाचारको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रल्हादप्रसाद वर्णवालसहित पाँच जना कर्मचारी र ठेकेदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारको अनुसन्धानका अनुसार २०७७/७८ र २०७८/७९ का लागि सेनिटरी प्याड खरिदमा महँगो मूल्यमा सम्झौता गरिएको र यसका कारण सरकारी कोषमा ठूलो हानि पुगेको पाइएको छ ।
अख्तियारले मिलेमतोमा प्याडको मूल्य बढी कायम गरी ठेक्का दिइएको ठहर गरेको छ । त्यसमा ५१ लाख ९९ हजार १ सय २० रुपैयाँ बढी भुक्तानी गरिएको थियो । उक्त रकम भ्रष्टाचारको रूपमा हिनामिना भएको र यसको असुलीका लागि अभियोग दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रल्हादप्रसाद वर्णवाल, शिक्षा अधिकृत विजय अधिकारी, जिन्सी प्रमुख राजेश ठाकुर र लेखा अधिकृत दिव्या सर्राफसँग मिलेमतो गरेर सागरदेवी फर्माका प्रोपाइटर बिमलेश साहले प्याडको मूल्य महँगो राखेर खरिद गरेको प्रमाणित भएको हो । यो खरिद सार्वजनिक खरिद नियमावली र सेनिटरी प्याड वितरण कार्यविधिका विपरीत गरिएको थियो ।
स्रोतका अनुसार २०७७ सालको मंसिर महिनामा ७९ रुपैयाँ १ पैसा प्रति प्याकेट मूल्य कायम गरी सेनिटरी प्याड खरिदको योजना स्वीकृत गरिएको थियो । त्यसपछि एकै परिवारका तीन फरक फर्मबाट मात्र बोलपत्र पेस भएका थिए । त्यसमध्ये सागरदेवी फर्माले ७८ रुपैयाँ प्रति प्याकेट मूल्यमा ९६ हजार २ सय ८० प्याकेट प्याड खरिदको ठेक्का पाएको थियो ।
अख्तियारको जाँचमा २०७८/७९ मा सेनिटरी प्याड प्रति प्याकेट २४ रुपैयाँको दरमा खरिद भएको पाइएको छ । यो अघिल्लो वर्षको भन्दा निकै कम थियो । यस आधारमा २०७७/७८ मा ५४ रुपैयाँ बढी भुक्तानी गरिएको पाइएको छ । ५१ लाख ९९ हजार १ सय २० रुपैयाँको रकम एक वर्षअघिको खरिद प्रक्रियामा बढी भुक्तानी गरिएको हो ।
अख्तियारले विशेष अदालतमा अभियोग दायर गर्दै यस हिनामिना र भ्रष्टाचारको दोषी मानेका सबै व्यक्तिहरूलाई भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कारवाही गर्न र बिगोको रकम वसूल गर्न मागदाबी गरेको छ । सागरदेवी फर्माका सञ्चालक बिमलेश साहलाई पनि यस मुद्दामा जिम्मेवार ठहराइएको छ । उनलाई छुट्टै बिगो र जरिवानासहित सजा दिन माग गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


