जनकपुरधाम, २६ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मधेशमा भण्डाफोर अभियानको थालनी गर्ने घोषणा गरेको छ ।

यो अभियान मधेश प्रदेशको प्रत्येक पालिकाबाट सुरु गर्न लागिएको हो । वर्तमान सरकारका भ्रष्टाचार र कुशासनका विषयलाई उजागर गर्न अभियान सुरु गर्न लागिएको रास्वपाका मधेश प्रदेश सभापति इन्जिनियर तपेश्वर यादवले जानकारी दिए ।

मंगलबार जनकपुरधामस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि यादवले रास्वपाले आगामी दिनहरूमा मधेशका आठवटा जिल्लामा आन्दोलनको स्वरुपमा यो अभियान सञ्चालन गर्ने जानकारी दिए ।

उनले भने, ‘हामी युवा जागरण अभियानको प्रभावसँगै अब व्यवस्थाविरुद्ध भण्डाफोर अभियान सञ्चालन गर्न लागेका हौं । यो अभियानले सरकारको कुशासन र भ्रष्टाचारको सबै पक्षलाई उजागर गर्नेछ ।’

यो अभियान देशभर फैलाउने उद्देश्यले रास्वपाले विभिन्न जिल्लाहरूमा आयोजन गरेको युवा जागरण अभियानलाई सफलतापूर्वक सम्पन्न गरेको छ । अब यो अभियान सरकारका गतिविधिहरु, काण्डैकाण्ड र भ्रष्टाचारको खिलाफमा राष्ट्रिय स्तरमा प्रहार गर्ने गरी थालनी गरिएको सभापति यादवले बताए ।

मधेश प्रदेशका मन्त्रीहरूले योजना बेच्ने काम गरेको आरोप समेत यादवले लगाए । उनले थपे, ‘कमिशनतन्त्र अहिले मधेशमा हावी भएको छ । मन्त्रीहरूले योजनाहरू बेच्ने काम गर्दैछन् । यसले जनताको अधिकारको उल्लङ्घन गरेको छ । हाम्रो अभियानले यस्ता सबै कुराहरूको भण्डाफोर गर्नेछ ।’

रास्वपाले यो अभियानसँगै रवि लामिछानेमाथि गरिएको धडपकडको पनि विरोध गर्दै सरकारको गलत गतिविधिहरूको बिरोध जनाएको छ । इन्जिनियर यादवले भने, ‘हामी सरकारका हरेक कदमको विरोध गर्दै जनताका हकका लागि संघर्ष गर्न अघि बढ्नेछौं । मधेशका जनताको हक र अधिकारका लागि हामी कटिबद्ध छौं ।’

यस अभियानको उद्देश्य सरकारका गलत कदम र जनता विरुद्धका कृत्यलाई जनसमक्ष ल्याउनु मात्र नभई एक नयाँ राजनीतिक चेतना फैलाउने पनि रहेको यादवले बताए ।