काठमाडौं, २६ चैत । तीनकुनेमा भएको राजावादी प्रदर्शनमा तोडफोड र आगजनी गरेको आरोपमा काठमाडौं प्रहरीले थप ६ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले यी व्यक्तिहरुलाई पक्राउ गरेर सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरूमा सर्लाहीका २२ वर्षीय अमित साह, सुनसरीका १९ वर्षीय सुमन कार्की, बर्दियाका ३४ वर्षीय हेमराज थारु, धादिङका २७ वर्षीय दिवस बोगटी क्षेत्री, काभ्रेकी ३० वर्षीया अनिता कुँवर (एनी) र सिन्धुपाल्चोकका ३० वर्षीय कुमार तामाङ रहेका छन् ।

प्रहरी प्रवक्ता एसपी अपिल राज बोहराले भने, ‘पक्राउ परेकाहरुलाई आपराधिक उपद्रव र संगठित अपराधको आरोपमा अनुसन्धान अघि बढाइएको छ ।’ पक्राउ परेकाहरुलाई काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान गर्ने अनुमति प्राप्त गरिएको पनि एसपी बोहरा स्पष्ट पारे ।

यससँगै राजावादी आन्दोलनमा संलग्न भएका व्यक्तिहरूको पक्राउ संख्या ७३ पुगेको छ । यसअघि राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महासचिव तथा सांसद धवलशम्शेर राणालगायत ६७ जना पक्राउ परेका थिए ।

पक्राउ परेकाहरूलाई राज्यविरुद्धको अपराधमा अनुसन्धान अघि बढाइएको जानकारी प्राप्त भएको छ । प्रहरीले पक्राउ गरिएका व्यक्तिहरूको गतिविधि र समूहको योजना बारे गहिरो अनुसन्धान गर्दै जाने तयारी गरेको छ ।