जनकपुरधाम, २६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मधेश प्रदेश सभामा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्रीको सम्बोधनले प्रदेश र संघीय सरकार बीचको सम्बन्धलाई सुदृढ बनाउने विश्वास गरिएको छ । प्रधानमन्त्री ओलीले प्रदेशका समसामयिक राजनीतिक, आर्थिक र सामाजिक मुद्दाहरूमा आफ्नो धारणा राख्दै सरकारको भावी योजनाबारे पनि जानकारी दिने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्रीको आगमनलाई विशेष महत्व दिँदै मधेश प्रदेश सरकारले सुरक्षा र व्यवस्थापनमा कडा तयारी गरेको छ । प्रदेश सभामा उनका स्वागतका लागि व्यापक तयारी गरिएको छ ।

सभाहलको भित्री संरचनामा पनि विशेष ध्यान दिइएको छ । सभाहलमा कुर्सीहरूको नयाँ व्यवस्था मिलाउनेदेखि नयाँ कार्पेट बिछ्याउने कार्य रातभरि सम्पन्न गरिएको छ । यसका साथै प्रधानमन्त्रीको स्वागतका लागि विभिन्न स्थानमा स्वागतद्वारहरूको निर्माण गरिएको छ ।

प्रदेश सभाको वातावरणलाई अझ आकर्षक र औपचारिक बनाउनका लागि विशेष प्रयास गरिएको छ । प्रदेश सभाका प्रवक्ता विपिन ठाकुरका अनुसार प्रधानमन्त्रीको आगमनलाई ऐतिहासिक बनाउनका लागि सबै तयारी पूर्ण रूपमा गरिएको छ ।

प्रधानमन्त्री ओलीले सम्बोधनपछि सिरहामा आयोजना हुने आमसभामा भाग लिने कार्यक्रम पनि तय गरिएको छ ।