काठमाडौं, २६ चैत । जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष दीपक कुमार साहले पार्टी अध्यक्ष डा. सीके राउतले आफूलाई धम्की दिएको आरोप लगाएका छन् ।

साहका अनुसार २०८१ असोज ७ गते सोमबार करिब १२ बजेर ३८ मिनेटको समयमा राउतले फोन गरेर ‘साहहरूले पार्टी कब्जा गर्न खोजेका छन् । तिमीलाई बर्बाद गरिदिन्छु’ भन्ने धम्की दिएका थिए ।

साहले यस धम्कीबारे पार्टीको स्थायी समितिका सदस्यहरूलाई समेत जानकारी गराएको र यस घटनाबारे महेश इसर र नरेन्द्र चौधरीसँग २–३ पटक छलफल गरेको बताए । अन्ततः उनीहरूले राउतसँग बैठक गरेर यस्तो धम्कीबारे अब यस्ता कुराकानी नगर्ने सहमति गरेका थिए ।

तर, साहको दाबी अनुसार राउतको धम्कीको कार्यान्वयन भएको छ र यसका परिणामस्वरूप उनलाई पार्टीले ६ महिनाका लागि निलम्बन गरेको छ । साहले यस निलम्बनलाई राउतको धम्कीको प्रत्यक्ष परिणामका रूपमा व्याख्या गरेका छन् ।

साहले भने, ‘त्यो धम्की कार्यान्वयनमा आएको छ । गैरराजनीतिक पोस्टहरू मार्फत मलाई गद्दार घोषित गरिएको छ । यस्ता कार्यहरू मेरो राजनीतिक छवि समाप्त पार्ने, मानसिक तनाव दिने र चरित्र हत्या गर्ने प्रयास मात्र हुन् ।’ उनले पार्टीका नेताहरूलाई आफूविरुद्धका यस्ता प्रचार गतिविधिहरू बन्द गर्न आग्रह गरेका छन् ।

आफूमाथिको यस्तो कारबाहीलाई साहले ‘व्यक्तिगत प्रतिशोध’ र ‘आत्महत्या दुरुत्साहन’ को रूपमा लिएका छन् । उनले चेतावनी दिएका छन्, ‘यदि यस्तो प्रवृत्ति तत्काल नरोकिए म यसलाई व्यक्तिगत प्रतिशोधको आधारमा नियोजित रूपमा गरिएको आत्महत्या गर्न दुरुत्साहन मान्न बाध्य हुनेछु ।’

पार्टीका अनुशासन समितिलाई कारबाही फिर्ता लिनका लागि पत्र लेखेका साहले यसमा गम्भीर असहमति जनाउँदै स्पष्ट पारेका छन्, ‘मैले कहिल्यै जानाजानी जनता, पार्टी वा अध्यक्षविरुद्ध कुनै कार्य गरेको छैन । कुनै पनि व्यक्तिले गलतको विरोध गर्नु र आफ्नो विचार प्रस्तुत गर्नु उनका अधिकार अन्तर्गत पर्छ ।’

यसअघि पार्टीले साह र पार्टीका राष्ट्रिय कोषाध्यक्ष सुरेन्द्र यादवलाई ११ बुँदे स्पष्टीकरण सोधेको थियो । यी दुवैले समयसीमाभित्र स्पष्टीकरण बुझाएका थिए । तर, चित्त नबुझेको भन्दै साहलाई गत चैत १४ गते कारबाही गरिएको थियो । साहले यो कारबाही फिर्ता लिनका लागि एक हप्ताभित्र पत्र लेखेका छन् ।

साहले अध्यक्ष राउतलाई चुनौती दिँदै भने, ‘यदि आरोप लगाउनेहरूले सत्यका प्रमाणको लागि आफ्नो अभिभावक वा सन्तानको टाउकोमा हात राखी कसम खाएर आरोप लगाउँछन् भने म सबै आरोप स्वीकार गर्न र कारबाही भोग्न तयार छु ।’