सर्लाही, २६ चैत । सर्लाही क्षेत्र नं. १ का पूर्वसांसद प्रमोद साह नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य बनेका छन् । उनी जसपा नेपाल पार्टीबाट बाहिरिएर गत फागुन २३ गते नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देव गुरुङले साहलाई पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी दिनका लागि हस्ताक्षर गरेका छन् । यस निर्णयसँगै साहलाई अब पार्टीका विभिन्न निर्णयमा सक्रिय भूमिका निभाउने अवसर प्राप्त हुनेछ ।

जसपा नेपालबाट माओवादी केन्द्रमा प्रवेश गरेपछि उनले पार्टीको स्थायित्व र विकासमा योगदान पुर्याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

पार्टीका उच्च नेताहरूका अनुसार साहको राजनीतिक पृष्ठभूमि र क्षमताले माओवादी केन्द्रलाई आगामी निर्वाचनमा अझ मजबुत बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।