पार्टीभित्र गद्दार प्रवृत्तिका व्यक्तिहरू सक्रिय : सीके राउत

जनकपुरधाम, २६ चैत । जनमत पार्टीका अध्यक्ष सीके राउतले पार्टी कार्यकर्तालाई चेतावनी दिँदै पार्टीभित्र गद्दार प्रवृत्तिका व्यक्तिहरू सक्रिय भएको गम्भीर खुलासा गरेका छन् ।
उनले पार्टीको एकता र संघर्षलाई कमजोर पार्ने उद्देश्यका साथ केही असंवेदनशील र स्वार्थी तत्वहरूले षड्यन्त्र र गुटबन्दी फैलाउन प्रयास गरिरहेको बताएका छन् ।
राउतले पार्टीको ऐतिहासिक एकता र संघर्षको महत्वलाई पुनः स्मरण गराउँदै भने, ‘पार्टीको एकताले जनताको मनमा उत्साह र हर्षको वातावरण सिर्जना गरेको छ । तर, केही व्यक्तिहरूको स्वार्थी प्रवृत्तिले उक्त एकतालाई भत्काउने र पार्टीलाई कमजोर पार्ने प्रयास भइरहेको छ ।’ उनले त्यस्ता व्यक्तिहरूको नाम भने भनेनन् । तर, ती व्यक्तिहरूको गतिविधि पार्टी भित्रको गुटबन्दी र भ्रम फैलाउने साथै पार्टी नेतृत्वलाई कमजोर बनाउने उद्देश्य राखेर गरिएको आरोप लगाए ।
उनको भनाइ अनुसार ती गद्दारहरूले गाडी र पैसा लगानी गरेर पार्टीको एकतालाई तोड्ने र संगठनलाई विभाजन गर्ने काम गरिरहेका छन् ।
‘पार्टीको नेतृत्वलाई अपमान गर्ने, प्रमुख नेताहरूको विरुद्ध भ्रम फैलाउने र कार्यकर्तामा अविश्वासको वातावरण सिर्जना गर्ने यस्ता प्रयास पार्टीको लागि एकदमै हानिकारक छन्,’ राउतले स्पष्ट पारे ।
राउतले पार्टीका सबै कार्यकर्तालाई यस्ता षड्यन्त्रहरूको बिरुद्ध एकजुट हुन आग्रह गर्दै भने, ‘जनमत पार्टी तीन करोड जनताको विश्वासको प्रतीक हो । र, यसको एकता र संघर्षलाई कमजोर बनाउने प्रयास गम्भीर अपराध हो । त्यसैले यस्ता गद्दारहरूको योजनाविरुद्ध हामी सबैले एकजुट भएर प्रतिरोध गर्नुपर्छ ।’
उनले पार्टीका सदस्यलाई व्यक्तिगत स्वार्थ र अहंकारबाट मुक्त हुँदै विवेक प्रयोग गर्न र पार्टीको एकता बचाउन आह्वान गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


