प्रधानमन्त्री ओली आज मधेश प्रदेश सभामा सम्बोधन गर्दै

जनकपुरधाम, २६ चैत । प्रधानमन्त्री केपी शर्मा ओली आज मधेश प्रदेश सभामा सम्बोधन गर्न लागेका छन् ।
प्रदेश सभामा प्रधानमन्त्रीको स्वागतका लागि व्यापक तयारी गरिएको छ । सभाहलमा कुर्सीहरूको व्यवस्था मिलाउनेदेखि नयाँ कार्पेट बिछ्याउने कार्य रातारात सम्पन्न गरिएको छ ।
प्रधानमन्त्री ओलीको स्वागतका लागि विभिन्न स्थानमा स्वागतद्वारको निर्माण गरिएको छ । यससँगै, सभागृहको वातावरणलाई विशेष र आकर्षक बनाउने प्रयास गरिएको प्रदेश सभाका प्रवक्ता विपिन ठाकुरले जानकारी दिए ।
सभामुख रामचन्द्र मण्डलका अनुसार प्रधानमन्त्री ओली आज बिहान ११ बजे प्रदेश सभामा सम्बोधन गर्नेछन् । यसका लागि बैठक बिहान १० बजेका लागि बोलाइएको छ ।
प्रधानमन्त्री ओलीको आगमनपछि प्रदेश सभामा औपचारिक रुपमा सम्बोधन हुने र त्यसपछि उनी सिरहामा आयोजना हुने आमसभामा जाने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री ओली आज हेलिकप्टरमार्फत जनकपुर विमानस्थलमा अवतरण गर्नेछन् र त्यसपछि सोझै प्रदेश सभा पुगेर सम्बोधन गर्नेछन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


