जनकपुरधाम, चैत २५ । धनुषाको लक्ष्मिनिया गाउँपालिका–३ स्थित कञ्चनवनमा रहेको गजरिया विघी उपभोक्ता सिचाई आयोजनामा मधेश प्रदेश सरकारले सिचाई दिवस–२०८१ भव्य रूपमा मनाएको छ ।

जलस्रोतको संरक्षण र सिंचाई विकासप्रति जनचेतना फैलाउने उद्देश्यले आयोजित कार्यक्रममा किसानहरूको उल्लेखनीय सहभागिता देखिएको थियो । प्रदेश सरकारका मन्त्रीदेखि पूर्वमन्त्री, प्रदेशसभा सदस्य, सचिव र दर्जनौं स्थानीय किसानहरूको उपस्थिति र संवादले कार्यक्रमलाई प्रभावशाली बनाएको थियो ।

कार्यक्रमको मुख्य आकर्षण नहरको मर्मत कार्यको सांकेतिक उद्घाटन थियो । पूर्वखानेपानी मन्त्री तथा नेपाली कांग्रेसका सहसचिव महेन्द्र यादव, प्रदेशका उर्जा, सिंचाई तथा खानेपानी मन्त्री शेष नारायण यादव, प्रदेशसभा सदस्य कुमरकान्त झा, सचिव रामकुमार खंग लगायत अतिथिहरूले कोदालो चलाएर उद्घाटन गरे । यो क्रियाकलापले सिंचाई व्यवस्थापनमा नेताको सक्रिय संलग्नता र किसानहरूप्रति सकारात्मक सन्देश दिएको सहभागी किसानहरू बताउँछन् ।

कार्यक्रमका प्रमुख अतिथि महेन्द्र यादवले आफ्नो सम्बोधनमा बासमति चामलको बढ्दो अन्तर्राष्ट्रिय मागलाई मधेशको सम्भावनासँग जोड्दै भने, ‘धनुषालाई बासमति चामल उत्पादनको पकेट क्षेत्र बनाउने दिशा सरकारले लिनुपर्छ । किसानले व्यवहारिक सिचाई योजनाका लागि सरकारसँग माग गर्न सक्नुपर्छ ।’

उनले किसानहरूको क्षमता विकास, अनुदानको पहुँच र सिंचाई सुविधाको सुलभता सुनिश्चित गर्नेतर्फ प्रदेश सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

कार्यक्रमका विशिष्ट अतिथि तथा उर्जा, सिंचाई तथा खानेपानी मन्त्री शेष नारायण यादवले भने, ‘मधेशको कृषि–आधारित अर्थतन्त्रमा सिंचाई नै जीवनरेखा हो । तर, भूगर्भीय पानीको सतह घट्दै जानुले चुनौती थपेको छ ।’

उनले साना ड्याम, तालतलैया र नहर मर्मतलाई प्रभावकारी बनाउन किसानको सहकार्य अनिवार्य रहेको बताए । साथै उनले गजरिया विघी नहरको मर्मत कार्य यही साताबाट प्रारम्भ भइरहेको जानकारी दिए । त्यस्तै, दूधमति नदी उकास तथा विकास परियोजना सफल भए हजारौं किसानलाई सिचाई सुविधा पुग्ने कुरामा पनि उनले आशा व्यक्त गरे ।

मन्त्री यादवले संघीय सरकारले मधेशप्रति विभेदकारी नीति अपनाएको आरोप लगाउँदै भने, ‘सिंचाईका महत्वपूर्ण योजनाहरूलाई प्राथमिकतामा नपार्दा मधेशका किसानहरू समस्यामा छन् । प्रदेश सरकारले भने लगातार संरचना निर्माण, पुनःनिर्माण र मर्मत कार्यमा प्रतिबद्धता देखाउँदै आएको छ ।’

कार्यक्रममा प्रदेशसभा सदस्य कुमरकान्त झा र सचिव रामकुमार खंगले पनि सम्बोधन गर्दै सिंचाई समस्या समाधानमा किसानसँग सहकार्यलाई प्राथमिकता दिइएको बताए ।

कार्यक्रमको अध्यक्षता गरेका गजरिया विघी उपभोक्ता सिचाई आयोजनाका अध्यक्ष जितेन्द्र यादवले सरकारसँग समन्वय गर्दै स्थानीय सिंचाई व्यवस्थापनलाई अझ व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरे ।