जनकपुरधाम, २५ चैत । दैनिक कार्यसम्पादनमा नेतृत्वविहीन हुँदै आएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को मधेश प्रदेश संसदीय दल अन्ततः नयाँ नेतासहित पुनः सक्रिय हुने भएको छ । सांसद जयनुल राइनलाई सोमबार संसदीय दलको नेतामा औपचारिक रूपमा मनोनयन गरिएको हो ।

यो जिम्मेवारी केन्द्रीय अध्यक्ष महन्थ ठाकुरको हस्ताक्षर सहितको पत्रमार्फत दिइएको हो । करिब १५ महिनादेखि रिक्त रहेको यो पदमा लोसपाले लामो विचार–विमर्शपछि राइनलाई विश्वास गर्दै अगाडि सारेको हो ।

लोसपाका तत्कालीन संसदीय दलका नेता अभिराम शर्मा थमन विक हत्यामा दोषी ठहरिएपछि पद रिक्त भएको थियो । अदालतले शर्मालाई दोषी ठहर गरेपछि मधेश प्रदेशसभाबाट उनको निलम्बन गरिएको थियो । त्यसपछिको कालखण्डमा लोसपा नेतृत्वबिहीन बन्न पुगेको थियो ।

नव नियुक्त नेता जयनुल राइनले सोमबार पत्रकारहरूसँग कुरा गर्दै भने, ‘करिब १५ महिनादेखि यो जिम्मेवारी खाली थियो । आज पार्टी अध्यक्षज्यूले मलाई नेतृत्वको जिम्मा दिनुभयो । मैले सभामुखको कार्यालयमा जानकारी गराइसकेको छु ।’

उनका अनुसार अब संसदीय दलले लामो समयदेखिको निष्क्रियतालाई अन्त्य गर्दै नीति निर्माण, संसदीय रणनीति र प्रदेश सरकारसँग समन्वयमा सक्रिय भूमिका खेल्नेछ । लोसपामा संसदीय दलको नेतृत्वका लागि विभिन्न नामहरू अघि सारिँदै आएका थिए ।

पार्टीभित्रको आन्तरिक खिचातानीकै कारण पद रिक्त रहँदै आएको बताइन्छ । तर, अन्ततः अध्यक्ष महन्थ ठाकुरले पार्टीको एकतालाई बलियो बनाउने उद्देश्यसहित राइनलाई चुनेका हुन् ।

प्रदेशसभा सदस्य जयनुल राइन मधेशको मौलिक मुद्दा, धार्मिक सहिष्णुता र शान्तिपूर्ण सहअस्तित्वका पक्षधर नेताका रूपमा परिचित छन् । उनको चयनले पार्टीमा समावेशिता, स्थायित्व र नयाँ ऊर्जा ल्याउने अपेक्षा गरिएको छ ।