जनकपुरधाम, २५ चैत । जनकपुरधाम उपमहानगरपालिकाले सार्वजनिक सम्पत्तिको संरक्षण र शहरी सुन्दरता पुनःस्थापनाको अभियान अन्तर्गत वडा नम्बर–४ स्थित मटकोर्वा पोखरी अतिक्रमणमुक्त गर्ने कार्य सुरु गरेको छ ।

नगरप्रमुख मनोज कुमार साहको नेतृत्वमा उपमहानगरपालिकाले पोखरीमाथि बनाइएका अवैध संरचना हटाउने काम बुलडोजर प्रयोग गरेर अघि बढाएको हो ।

सार्वजनिक जग्गा अतिक्रमणको लामो समयदेखिको समस्या अन्त्य गर्न जनकपुरधाम उपमहानगरले ‘पब्लिक ल्याण्ड फ्री’ नामक अभियानको थालनी मटकोर्वा पोखरीबाट गरेको छ । पोखरीमाथि बनाइएको पर्खाल लगायतका संरचनाहरू हटाउने कार्य मेयर मनोज साह र वडा नम्बर–४ का वडाध्यक्ष सुरेश झाको नेतृत्वमा भएको हो ।

उपमहानगरपालिकाको बुलडोजर चल्दा सयौं स्थानीयबासीहरू उक्त दृश्य हेर्न जम्मा भएका थिए । उनीहरूमा कुनै डर भन्दा पनि शहर सफा, खुला र व्यवस्थित हुने आशा झल्किएको देखिन्थ्यो । कार्यक्रमका नेतृत्वकर्ता तथा जनकपुरधामका नगरप्रमुख मनोज कुमार साहले पोखरी क्षेत्रको ऐतिहासिक महत्व उल्लेख गर्दै भने, ‘जनताको सम्पत्तिमाथि जबरजस्ती कब्जा गर्ने प्रवृत्तिको अन्त्य नगरेसम्म शहर व्यवस्थित बन्न सक्दैन । अबका दिनमा यस्ता संरचनाहरू न त अवैध बनाइने छन्, न त सहन गरिनेछ ।’

उनले थपे, ‘हामी विकासका नाममा प्रकृति र सार्वजनिक सम्पत्ति मास्ने होइनौं, संरक्षण गर्दै सुन्दरता थप्ने पक्षमा छौं ।’

जनकपुरधामको ऐतिहासिकता बोकेको मटकोर्वा पोखरी विगत केही वर्षदेखि व्यक्तिगत स्वार्थका लागि अतिक्रमणमा परेको थियो । पोखरी क्षेत्र वरिपरिको पर्खाल, टहराजस्ता अस्थायी संरचना हटाएपछि सो स्थान खुला र व्यवस्थित देखिन थालेको छ ।

उपमहानगरपालिकाका अनुसार अब पोखरी क्षेत्रलाई हरियालीयुक्त पार्क, फूटपाथ र बत्तीले सजाउने योजना पनि छ ।

वडाध्यक्ष सुरेश झाले अतिक्रमण विरुद्धको अभियान अन्य वडामा पनि क्रमशः अघि बढाउनु पर्ने आवश्यकता रहेको बताए । उनले भने, ‘जनताको सम्पत्तिलाई जनताकै हात फर्काउने यो अभियान हो । हामी कानुनी प्रक्रिया अनुसार अगाडि बढ्छौं । जसले गलत गरेका छन्, उनीहरूलाई सुधारको मौका दिइनेछ ।’

स्थानिय बासिन्दाहरूले उपमहानगरपालिकाको यो कदमलाई साहसी र सराहनीय भन्दै स्वागत गरेका छन् । स्थानीयवासी सोनु निधि भन्छन्, ‘हामी दशकौँदेखि पोखरी मासिने हेर्दै आएका थियौं । आज पहिलो पटक कसैले वास्ता गर्यो । यस्तो काम निरन्तर होस् ।’