काठमाडौं, २४ चैत । शिक्षक र विद्यालय कर्मचारीहरूको आन्दोलनका कारण माध्यमिक शिक्षा परीक्षा (एसइई) को उत्तरपुस्तिका परीक्षणमा प्रभाव पर्ने भएको छ । शिक्षकहरूले चैत २० गतेदेखि काठमाडौंमा शैक्षिक सडक आन्दोलन सुरु गरेका छन् । उनीहरुले एसइई लगायत अन्य परीक्षाका उत्तरपुस्तिका परीक्षण नगर्ने घोषणा गरेका छन् । यसले एसइईको उत्तरपुस्तिका परीक्षणको कामलाई प्रभावित पार्ने देखिन्छ।

नेपाल शिक्षक महासङ्घले शैक्षिक हड्तालको घोषणा गर्दै उत्तरपुस्तिका परीक्षण नगर्ने, नतिजा प्रकाशन नगर्ने, तालिम गोष्ठीमा सहभागी नहुने, सेमिनार र शैक्षिक भ्रमणमा सहभागी नहुने जनाएका छन् । महासङ्घका अनुसार यस हड्तालको कारण परीक्षा परिणामका लागि तयारी गर्न समस्याहरू उत्पन्न हुनेछन् ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले भने, ‘यो साताबाट कापी परीक्षणको काम थाल्नुपर्ने थियो । तर, शिक्षकहरूको आन्दोलनका कारण यो प्रक्रिया प्रभावित हुने देखिन्छ । यदि उत्तरपुस्तिका परीक्षण ढिलो भयो भने नतिजा प्रकाशनमा समस्या आउन सक्छ ।’ एसइईको नतिजा असार ७ गते सार्वजनिक गर्ने कार्यतालिका छ । तर, आन्दोलनको प्रभावले त्यसमा ढिलाइ हुन सक्ने अध्यक्ष शर्माले बताए ।

पाँच लाख विद्यार्थीका ३५ लाख उत्तरपुस्तिका परीक्षण गर्नुपर्ने हुन्छ । यसको जिम्मेवारी शिक्षकहरूलाई दिइन्छ । तर, महासङ्घले उत्तरपुस्तिका परीक्षण नगर्ने घोषणा गरेको छ । यसका कारण नतिजा प्रकाशनमा ढिलाइ हुने सम्भावना देखिएको छ ।