काठमाडौं, २४ चैत । आम जनता पार्टीका अध्यक्ष र पूर्वमन्त्री प्रभु साहले सिंहदरबारमा लोकतन्त्रको नाममा लुटतन्त्र र भ्रष्टाचारको साम्राज्य खडा भएको आरोप लगाएका छन् । उनले जनआन्दोलन दिवसको अवसरमा आइतबार आयोजित ‘तेस्रो जनआन्दोलन’ को सभामा बोल्दै वर्तमान शासकहरूको आलोचना गरेका छन् ।

साहले भने, ‘लोकतन्त्रको नाममा लुटतन्त्र र भ्रष्टाचारको साम्राज्य खडा गर्नेहरूले सिंहदरबार खाली गर्न ढिलाई गरे जनताले सिंहदरबार भित्र छिरेर कठालोमा समातेर गलहत्याउने छन् ।’ उनले नेताहरूलाई चेतावनी दिँदै भने जतिसक्दो चाँडो सिंहदरबार खाली गर्दा उनीहरूको भलाई हुनेछ ।

साहले जनआन्दोलन र जनयुद्ध पछि प्राप्त भएका उपलब्धिहरु अहिलेका शासकहरूले बेचेर खाएको गम्भीर आरोप लगाए । उनले भने, ‘नेताहरुले राजा बनाउनको लागि नेपाली जनता लडेको होइन ।’ शासकहरूको धन कमाउने प्रवृत्तिका बारेमा जनतालाई सचेत गराउँदै उनले त्यसको निन्दा गरे ।

साहले देशका नेताहरू आफ्ना आसेपासेहरूलाई मालामाल हुने अवसर प्रदान गर्दै जनता बेहाल अवस्थामा रहेको बताए । उनले भने, ‘हामी हेर्न सक्छौँ लुट र भ्रष्टाचार बढेको छ । जनता लाचार बन्नुपरेको छ । नेताहरूका छोराछोरी विदेशमा मोजमस्ती गर्दैछन् । तर, गरीबका छोराछोरी परिवार पाल्न विदेशमा मर्ने अवस्था आइपरेका छन् ।’ उनले देशको वर्तमान स्थितिलाई उजाड र निराशाजनक भने ।

साहले घुस र कमिशनको सम्बन्धमा भने, ‘देशमा अहिले बिना घुस र कमिशन कुनै काम हुन नसक्ने अवस्था आएको छ ।’ उनले आन्दोलनको वेगलाई रोक्न अहिलेका नेताले सक्दैनन् भन्दै जनताको आक्रोशको शक्ति अझै बाकी रहेको बताए ।

साहले काठमाडौं महानगर र यसको नेतृत्व बालेन्द्र शाहको नेतृत्वमा कवाड व्यवसाय र मजदुरहरू माथि चरम अत्याचार भइरहेको आरोप लगाए । उनले भने, ‘कवाड व्यवसायमा आवद्ध व्यक्तिहरूलाई राज्यले राम्रो काम गरेको भनेर पुरस्कृत गर्नुपर्नेमा उल्टै तिनीहरूलाई अपराधीजस्तो दुःख दिइरहेको छ । यसले आतंकको वातावरण सिर्जना गरेको छ । यसको विरोध गर्नुपर्छ ।’