काठमाडौं, २४ चैत । नेपालको राष्ट्रिय राजनीतिमा नयाँ मोड आउने संकेत देखिएको छ ।

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले बैशाखको दोस्रो साता भित्र पार्टी एकीकरण गर्ने सहमति जुटाएका छन् । दुई पार्टीका शीर्ष नेताहरूको बर्दियास्थित सुन्दरपुरमा बसेको बैठकले एकताका लागि स्पष्ट मोडालिटी तय गर्दै अगाडि बढ्ने सहमति जनाएका छन् ।

बैठकमा दुवै पक्षले ६ सदस्यीय कार्यदल गठन गरेका छन् । सो कार्यदलले एकीकृत पार्टीको नेतृत्व संरचना, विधान तथा संगठनात्मक ढाँचा तय गरिसकेको छ । कार्यदलमा जनमत र नाउपाबाट तीन–तीन जना प्रतिनिधित्व रहेका छन् ।

पार्टी एकता पश्चात जनमत पार्टीका अध्यक्ष डा. सीके राउत एकीकृत पार्टीको अध्यक्ष हुने र नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ उपाध्यक्ष बन्ने सहमति कार्यदलले गरेको छ । यद्यपि औपचारिक निर्णय शीर्ष तहको अन्तिम छलफलपछि टुंगो लाग्ने बताइएको छ । नागरिक उन्मुक्तिका संस्थापक अध्यक्ष रेशम चौधरी भने नयाँ पार्टीको संरक्षक रहने पक्का भइसकेको छ ।

पार्टीको नाम र चुनाव चिन्हबारे भने अन्तिम टुंगो लाग्न बाँकी रहेको जनाइएको छ । सहमतिको आधारमा एक पार्टीको नाम लिएर अर्को पार्टीको चुनाव चिन्ह राख्ने प्रस्ताव गरिएको छ ।

जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवका अनुसार एकीकृत पार्टीको औपचारिक घोषणा बैशाखको पहिलो साताभित्र गरिनेछ । दोस्रो साताभित्र विधिवत रूपमा पार्टी दर्ता र सार्वजनिक कार्यक्रममार्फत नयाँ राजनीतिक शक्तिको औपचारिक घोषणा गरिने योजना बनाइएको छ ।

जनमत पार्टी र नाउपा दुबैले मधेश, थरुहट र पहिचानको राजनीतिलाई केन्द्रमा राख्दै जनमत बनाउँदै आएका छन् । सीके राउत र रेशम चौधरी दुवै नेता संघीयता, समानुपातिक प्रतिनिधित्व, नागरिक अधिकार जस्ता मुद्दाका वकालतकर्ताका रूपमा चिनिन्छन् । तसर्थ, यी दुई शक्तिको एकता नेपाली राजनीतिमा वैकल्पिक शक्ति निर्माणतर्फको एक ठुलो कदम मानिएको छ ।