धन्य कौशल्याजीके भाग्य की रामजी जनम लेल रे…

जनकपुरधाम, २४ चैत । भगवान् श्रीरामको जन्मोत्सव रामनवमीको अवसरमा जनकपुरधाममा धार्मिक उल्लास र भव्यताका साथ पर्व मनाइँदैछ । मर्यादा पुरुषोत्तम रामको स्मरणमा जनकपुरधामस्थित राम मन्दिर, जानकी मन्दिर, राजदेवी मन्दिर लगायतका प्रमुख धार्मिक स्थलहरूमा विशेष पूजाआजा, भजन–कीर्तन र सन्तसभा गरिँदैछ ।
अहिले मन्दिर परिसरमा देश–विदेशबाट आएका श्रद्धालुहरूको घुइँचो लागेको छ । नेपाल र भारतका विभिन्न ठाउँबाट आएका दुई सयभन्दा बढी साधुसन्तहरू समेत पर्वमा सहभागी हुन जनकपुरधाम आइपुगेका छन् ।
जनकपुरधामलाई भगवान् रामको ससुरालीको रूपमा चिनिने भएकाले यहाँ रामनवमी विशेष उत्सवको रूपमा मनाउने परम्परा छ । जानकी मन्दिरका छोटे महन्थ रामरोशन दास भन्छन्, ‘एक साता अघिदेखि नै भजन–कीर्तन, श्रीरामको बधाई गान, प्रवचन र पूजाआजा कार्यक्रमहरू जारी छन् । जनकपुरधाम यो बेला पुरै धार्मिक र सांस्कृतिक उत्सवमा रमाएको छ ।’
राम मन्दिरका महन्थ राम गिरीका अनुसार त्रेतायुगमा चैत्र शुक्ल नवमीका दिन अयोध्यामा श्रीरामको जन्म भएको धार्मिक मान्यता छ । त्यसैले यस दिनलाई सत्यमाथि असत्यको विजयको प्रतीकका रूपमा मनाइन्छ ।
रामनवमीको दिन बिहानै श्रद्धालुहरू गंगासागर, धनुषसागर, दशरथ तालाउ, अंगराजसर लगायतका सरोवरहरूमा स्नान गरी मनोकामना पूरा हुने विश्वाससहित मन्दिरमा पूजा गर्छन् । विशेष गरी राम र जानकी मन्दिरमा भक्तजनको ठूलो भिड लाग्ने गर्छ ।
श्रद्धालुहरू भन्छन्, ‘रामनवमीमा जनकपुरधाममा आएर गंगासागरमा स्नान गरेर राम–जानकीको दर्शन गरेपछि आत्मिक सन्तुष्टि मिल्छ ।’
रामनवमी पर्वलाई लक्षित गर्दै जानकी मन्दिर, राम मन्दिर लगायत सम्पूर्ण धार्मिक स्थलहरूलाई दियो, फूल, रंगीन झ्यालझ्याल र तोरणले सजाइएको छ । विशेष सुरक्षाकर्मी परिचालन गरिएको छ ।
रामनवमी जस्ता पर्वहरू जनकपुरधामको धार्मिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने गरेका छन् । यस वर्षको पर्वमा पनि हजारौँ आन्तरिक र भारतीय पर्यटक आएका छन् ।
रामनवमीको अवसरमा जनकपुरधाम अहिले धार्मिक आस्थाको रंगमा रंगिएको छ । भगवान् रामको जन्म दिनको सम्झनामा मनाइने यो पर्वले नेपाल र भारतको धार्मिक सम्बन्ध झनै बलियो बनाउँदै धार्मिक एकता, शान्ति र विश्वासको सन्देश फैलाइरहेको छ ।


तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


