धनुषाको लालगढमा भीषण आगलागी, धनौजी खानेपानी आयोजना कार्यालयमा लाखौंको क्षति

जनकपुरधाम, २४ चैत । आइतबार बिहान धनुषाको लालगढस्थित धनौजी खानेपानी आयोजना कार्यालय भीषण आगलागीको चपेटामा परेको छ । बिहान करिब ९ बजे नजिकैको वन क्षेत्रबाट सुरु भएको आगो विस्तार हुँदै कार्यालय परिसरमा पसेको र पाइपसहित विभिन्न निर्माण सामग्री जलेर नष्ट भएको छ ।
वडाध्यक्ष सविनविक्रम थापाका अनुसार आगलागीले खानेपानी विस्तारका लागि भण्डारण गरिएको सबै पाइप पूर्ण रूपमा नष्ट गरेको छ । ‘सडक छेउको जंगलमा लागेको आगो तिब्र हावाका कारण कार्यालय परिसरमा फैलियो,’ वडाध्यक्ष थापाले भने, ‘हामीले खानेपानी विस्तारका लागि आवश्यक सबै पाइपहरू भण्डारण गरेका थियौं । ती सबै आगलागीमा जलेर खरानी भएका छन् ।’
धनौजी खानेपानी आयोजना स्थानीय तह, संघीय सरकार र दातृ निकायको सहयोगमा सञ्चालित एक महत्त्वपूर्ण विकास योजना हो । परियोजनाले लालगढ क्षेत्रका हजारौं बासिन्दालाई खानेपानी सुविधा पुर्याउने लक्ष्य लिएको छ । यस आयोजनाको भण्डारण स्थलमा भएको आगलागीले करिब ३० लाख रुपैयाँ बराबरको संरचना र सामग्रीमा क्षति पुर्याएको प्रारम्भिक अनुमान छ ।
घटनापछि तत्कालै स्थानीय बासिन्दा, सुरक्षाकर्मी र नगरपालिकाको दमकल टोली परिचालित भई आगो नियन्त्रणमा ल्याइएको थियो । ‘यदि तुरुन्त नियन्त्रणमा नलिइएको भए कार्यालय भवन नै पूर्ण रूपमा जलेर नष्ट हुन सक्थ्यो,’ प्रहरी स्रोतले जानकारी दियो ।
लालगढ प्रहरी चौकीका अनुसार आगलागीको वास्तविक कारण र क्षतिको यथार्थ मूल्याङ्कन गर्न अनुसन्धान अघि बढाइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


