काठमाडौं, २३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरूले सरकारलाई विश्वास गरेर प्रदर्शन गर्न काठमाडौं आएको बताएका छन् ।

शनिबार थाइल्याण्डको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएपछि प्रधानमन्त्री ओलीले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनमा यो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले शिक्षकहरूको प्रदर्शनलाई सम्बोधन गर्ने सरकारको तयारी रहेको बताउँदै भने, ‘पहिले पहिले प्रदर्शनमा आउनु हुन्नथ्यो । प्रदर्शन गर्यो, गर्यो भने कानमा बतास लाग्दैन भने किन गर्ने भन्ने हुन्थ्यो । अहिले भने आवाज उठाएपछि सरकारले सुन्छ भन्ने उनीहरूको विश्वास छ ।’

उनले भने, ‘सानो डेलिगेशन आएको भए पनि सरकारले त्यसलाई सम्बोधन गर्नेछ । सरकारको दृष्टिकोण सधैं सकारात्मक रहेको छ । शिक्षकहरूको मुद्दा यसैगरी छलफलबाट टुंगिन्छ ।’

प्रधानमन्त्री ओलीले थपे, ‘उनीहरूलाई धेरै दुःख नपाए हुन्छ । सरकारले कुनै पनि नकारात्मक दृष्टिकोण राख्दैन र यो विषयलाई समाधान गर्न एक सकारात्मक पहल हुनेछ ।’

शिक्षक महासंघले विद्यालय शिक्षा ऐनको माग गर्दै प्रदर्शन गरिरहेको छ ।