एम्बुलेन्स प्रयोग गरी लागुऔषध तस्करी गर्न खोज्ने ६ भारतीय नागरिक पक्राउ

ललितपुर, २३ चैत । एम्बुलेन्सजस्तो आपतकालीन सेवाको दुरुपयोग गरी लागुऔषध तस्करी गर्न खोज्ने ६ जना भारतीय नागरिकलाई प्रहरीले ललितपुरको भट्टेडाँडाबाट पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरले पत्रकार सम्मेलनमार्फत शुक्रबार राति २ बजे बागमती गाउँपालिका–३ छपेलीमा विशेष सुराकीका आधारमा गरिएको चेकजाँचबाट उनीहरूलाई पक्राउ गरिएको जानकारी दिएको हो ।
पक्राउ पर्नेहरूमा भारतका समिर आलम (२०), मुन्ना अन्सारी (३०), नोर्जान खातुन (५०) सहित एक किशोरी र एक ८ वर्षीय बालक छन् । उनीहरू सवार भारतीय नम्बर प्लेटको एम्बुलेन्सबाट प्रहरीले ट्रामाडोलका ९३,८०० क्याप्सुल बरामद गरेको हो ।
प्रारम्भिक अनुसन्धानमा उनीहरूले बिरामी नाटक गरी लागुऔषध काठमाडौं ल्याउने योजना बनाएको खुलेको छ ।
एम्बुलेन्स चालक मोहम्मद उमर भने प्रारम्भमा घटनास्थलबाट फरार भएका थिए । तर, प्रहरीले शनिबार बिहान उनलाई पनि नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीका अनुसार तस्करी गर्न लागिएको ट्रामाडोल एक नेपाली व्यक्तिका लागि ल्याइएको बताइएको छ । तर, ती व्यक्ति फरार छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


