रौतहट, २३ चैत । रामनवमी पर्वको अवसरमा गौर नगरपालिकाले नगर क्षेत्रमा आइतबार मांसाहारी सामग्री तथा मदिराजन्य पदार्थको बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ । नगर प्रमुख शम्भु साहद्वारा जारी विज्ञप्तिमा धार्मिक शोभायात्रा, झाँकी तथा सांस्कृतिक कार्यक्रमलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको जनाइएको छ ।

नगर प्रमुख साहले सबै नगरवासी, व्यवसायी तथा सरोकारवालाहरूलाई पर्वको गरिमा कायम राख्न सहकार्य गर्न आग्रह गरेका छन् । उनले भने, ‘रामनवमी हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण धार्मिक पर्व हो । यस अवसरमा नगर क्षेत्रमा धार्मिक मर्यादा तथा सांस्कृतिक सौन्दर्य कायम राख्न हामी सबैको भूमिका महत्त्वपूर्ण हुन्छ ।’

रामनवमीको दिन नगर क्षेत्रमा शोभायात्रा, झाँकी प्रदर्शनी तथा विविध सांस्कृतिक कार्यक्रमहरू आयोजना हुने भएकाले त्यस्तो समयमा मांसाहारी वस्तु तथा मदिराजन्य पदार्थ बिक्री वितरण भए धार्मिक भावनामा आघात पुग्न सक्ने नगरपालिकाको ठहर छ ।

गौर नगरपालिकाले शान्ति, सुव्यवस्था र धार्मिक सौहार्द कायम राख्न प्रतिबद्ध रहेको जनाउँदै सबै पक्षसँग सहयोगको अपील गरेको छ । नगर क्षेत्रभित्र सञ्चालन हुने व्यवसायिक प्रतिष्ठानहरूलाई यस निर्णयको पालना गर्न आग्रह गर्दै नगर प्रहरी तथा प्रशासनलाई निगरानी र कार्यान्वयनमा जुट्न निर्देशन दिइएको छ ।

स्थानीय बासिन्दाहरूले पनि नगरपालिकाको निर्णयको स्वागत गरेका छन् । उनीहरूले धार्मिक पर्वको महत्व बुझ्दै समाजमा सद्भाव र अनुशासन कायम राख्न सबैले सहयोग गर्नुपर्ने बताएका छन् ।