जनकपुरधाम, २३ चैत । उत्पीडित समुदायको अधिकार र संघीय लोकतान्त्रिक व्यवस्थाको रक्षा गर्नुपर्ने माग गर्दै नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, नेपाल सद्भावना पार्टी र नेपाल जनजागृति पार्टीले संयुक्त रूपमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका छन् । कार्यक्रममा नेताहरूले पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता र वर्तमान दलहरूको चरित्रमाथि तीव्र प्रहार गरेका छन् ।

कार्यक्रममा बोल्दै नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीले पूर्वराजा ज्ञानेन्द्र शाहले जनताको बलिदानीबाट प्राप्त संघीय लोकतान्त्रिक उपलब्धि समाप्त पार्ने षड्यन्त्र गरिरहेको आरोप लगाए । ‘जनताले ठूलो बलिदान दिई प्राप्त गरेको यो व्यवस्था कसैले समाप्त पार्न खोजे ऊ आफैं समाप्त हुन्छ । २०४६ को आन्दोलनपछि पनि राजा कांग्रेस र कम्युनिस्ट भनाउँदाहरूको कृपाबाट बच्थे, अहिले पनि उनीहरूकै मौन समर्थनबाट हौसिएका छन्,’ अन्सारीले भने ।

उनले भने, ‘संविधान, गणतन्त्र र संघीयता उल्ट्याउने जुनसुकै प्रयत्नलाई कठोर प्रतिवादको सामना गर्न तयार रहनुहोस् ।’

बहुजन एकता पार्टी नेपालका अध्यक्ष हरिनन्दन अम्बेडकरले यथास्थितिवादी शक्ति र कथित मधेशवादी नेताहरूको आलोचना गर्दै भने, ‘वास्तविक मधेशवादीको हातमा कहिल्यै मधेश आएन । जुन नेताहरूले मधेशका नाममा राजनीतिमा उक्लिए, तिनैले मधेशलाई धोका दिए । अहिले मधेश जातीय राज्यमा परिणत भएको छ । हामी जातीय मुक्ति खोज्दैछौं ।’

नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतोले वर्तमान राजनीतिक दलहरू लोकतन्त्रको रक्षा गर्न असफल भएको टिप्पणी गरे । ‘हामीले यिनलाई पटकपटक विश्वास गर्यौं, परिणामस्वरूप धोका मात्र पाइरह्यौं । राजा ज्ञानेन्द्र संविधानको उल्लंघन गरी फेरि सत्तामा फर्कने सपना देख्दैछन् । अब उनीविरुद्ध कानुनी कारबाहीको माग उठाउन जरुरी भइसकेको छ,’ महतोको भनाइ थियो ।

नेपाल जनजागृति पार्टीका अध्यक्ष ध्रुव प्रसाद निसादले मधेशी जनताको रगतसँग सम्झौता गरेको कथित मधेशवादी नेताहरूको आलोचना गरे । ‘२ सय मधेशी शहीदको रगत सुक्न नपाउँदै उपेन्द्र यादव मन्त्री बन्न सरकारमा गएका थिए । मधेशी जनताले के पाए त्यसपछि ? कथित मधेशवादीको हातमा मधेश सरकार आउँदा मधेशी जनताले अधिकार होइन, धोका मात्र पाए,’ निसादले आक्रोश व्यक्त गरे ।

पूर्वमन्त्री बिमला अन्सारीले संविधान र लोकतन्त्रको रक्षा अब उत्पीडित समुदायकै काँधमा रहेको उल्लेख गरिन् । ‘संघीय लोकतान्त्रिक मधेशी मोर्चा भन्नेहरू अवसरवादी हुन् । उनीहरूले मधेशका नाममा सत्तामा सिँढी बनाउने काममात्र गरे,’ उनले भनिन् ।

कार्यक्रममा वक्ताहरूले संघीय गणतान्त्रिक गठबन्धन नामक नयाँ राजनीतिक शक्तिको औपचारिक घोषणा बैशाख ४ गते पत्रकार सम्मेलनमार्फत गर्ने जानकारी दिए । गठबन्धनको ठूलो घोषणा सभा जेठ १५ गते जनकपुरधाममा आयोजना गरिनेछ ।

नयाँ गठबन्धनले देशभरका उत्पीडित जनतालाई एकजुट गर्दै १८ जिल्लामा जनजागरण अभियान सञ्चालन गर्नेछ । गठबन्धनको नेतृत्वमा रहेका नेताहरूले भने, ‘अब हाम्रो सहमतिबिना न देश चल्छ, न मधेश । ‘भोट हमारा और राज तुम्हारा – नहीं चलेगा ।’
अब मधेशी जनताले लोभ र भय त्यागे राज्यसत्ता उनीहरूको पैतालामुनि हुनेछ ।’