अस्पतालमाथि तोडफोड जनकपुरवासीको इज्जतमाथि हमला हो : डा. राउत

जनकपुरधाम, २३ चैत । जनकपुर न्युरो अस्पतालका सञ्चालक डा. विजयकुमार राउतले अस्पतालमा भएको तोडफोड र हुलहुज्जतको भत्र्सना गर्दै कानुनी उपचार खोज्ने बताएका छन् । शनिबार बिहान पत्रकार सम्मेलनमार्फत डा. राउतले उक्त घटनालाई जनकपुरधामका नागरिकहरूमाथिको प्रत्यक्ष आक्रमणको संज्ञा दिएका हुन् ।
चैत १ गते धनुषाको मालटोलमा भएको बस दुर्घटनामा घाइते भएका विरामीहरूको उपचारमा कुनै कसर बाँकी नराखी अस्पतालले सेवा दिएको उनले बताए । दुर्घटनामा परेका धनलक्ष्मी ट्राभल्सको ना ५ ख १४४१ नम्बरको बसमा सवार करिब ४२ जना यात्रु घाइते भएका थिए । तीमध्ये धेरैजसोलाई उपचारपश्चात निको भएपछि घर फर्काइएको थियो भने चार–पाँच जना अझै अस्पतालमा उपचाररत छन् ।
डाक्टर राउत भन्छन्, ‘सुरुमा बस व्यवसायी संघले सम्पूर्ण उपचार खर्च बेहोर्ने लिखित तथा मौखिक प्रतिवद्धता जनाएको थियो । तर, विरामी निको हुँदै जाँदा अन्तिममा बाँकी रहेका विरामीहरूको खर्च नतिरी जबरजस्ती डिस्चार्ज गराउन दबाव दिन थाले ।’
उनका अनुसार शुक्रबार साँझ बस व्यवसायी समूहका केही व्यक्तिहरू अस्पताल परिसरमा प्रवेश गरी हुलहुज्जत गर्दै तोडफोड गरेका थिए । ‘हिजोको आक्रमण केवल अस्पतालमाथि होइन, यो सम्पूर्ण जनकपुरवासीको इज्जतमाथि भएको हमला हो । मैले यो अस्पताल नेपालको जुनसुकै कुनामा खोल्न सक्थें, तर जनकपुरधामप्रतिको प्रेम, माया र स्नेहका कारण यहाँ स्थापना गरेँ । यस्तो व्यवहार पाउँदा मन दुख्छ,’ पत्रकार सम्मेलनमा डा. राउतको भनाइ थियो ।
उनले थपे, ‘हामीले पटकपटक बस व्यवसायी संघलाई सम्पर्क गर्न खोज्यौं, तर उनीहरूले फोन उठाएनन्, मोबाइल स्विच अफ गरे । उपचारमा कुनै कमी नगरेको अस्पतालमाथि यस्तो अमानवीय व्यवहार हुनु दुःखद् छ ।’
डा. राउतले अब कानुनी बाटो उपनाउने बताए । ‘हामी शान्तिपूर्ण तरिकाले सेवा दिइरहेका थियौं । तर, अब हामी कानुनको सहारामा आफ्नो पक्ष राख्नेछौं । अस्पतालले विरामीलाई मात्र होइन, समाजलाई सेवा दिएको छ,’ उनले बताए ।
अस्पताल प्रशासनले सार्वजनिक रूपमा बस व्यवसायीहरूसँग भएको सहमति र छलफलका प्रमाणहरू सार्वजनिक गर्ने तयारी गरिरहेको जानकारी दिएको छ ।
जनकपुरधामजस्तो संवेदनशील र सांस्कृतिक रूपमा महत्वपूर्ण सहरमा स्वास्थ्यमाथिको यस्ता आक्रमणले समाजमा गलत सन्देश जाने भन्दै डा. राउतले सबै सरोकारवालालाई संवेदनशील र जिम्मेवार बन्न आग्रह गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


