जनकपुर न्युरो अस्पतालमा बस व्यवसायीहरूद्वारा तोडफोड

जनकपुरधाम, २२ चैत । जनकपुरधामस्थित न्युरो हस्पिटलमा माँ जानकी जनकपुरधाम यातायात प्रा.लि.का व्यवसायीहरूले तोडफोड गरेका छन् । अस्पताल प्रशासनले घाइतेहरूको उपचार खर्च नतिरी डिस्चार्ज गराउन खोजेको भन्दै विरोध गर्दा विवाद चर्किएको थियो ।
चैत १ गते धनुषाको मालटोलमा धनलक्ष्मी ट्राभल्सको ना ५ ख १४४१ नम्बरको बस दुर्घटना हुँदा करिब ४०–५० जना घाइते भएका थिए । दुर्घटनापछि बस व्यवसायीहरूले सबै घाइतेहरूको उपचार खर्च बेहोर्ने प्रतिबद्धता जनाएका थिए ।
तर, केही दिनपछि चार–पाँच जना घाइते अझै उपचाररत रहँदा उनीहरूको सम्पूर्ण खर्च नतिरी डिस्चार्ज गराउन व्यवसायीहरूले दबाब दिन थालेको अस्पताल प्रशासनको आरोप छ । अस्पतालले सम्पूर्ण उपचार खर्चको भुक्तानी माग्दा व्यवसायीहरूले आक्रोशित हुँदै अस्पतालमा तोडफोड गरेका थिए ।
अस्पताल प्रशासनका अनुसार शुक्रबार साँझ एक बस भरि मान्छे लिएर आएका व्यवसायीहरूले अस्पतालमा प्रवेश गरी तोडफोड गरेका थिए । उनीहरूले विरामीलाई बन्धक बनाइएको भन्दै उग्र प्रदर्शन गरेका थिए ।
माँ जानकी जनकपुरधाम यातायात प्रा.लि.का अध्यक्ष मनोज चौधरीले अस्पतालले विरामीलाई जबरजस्ती राखेर अनावश्यक शुल्क असुल्न खोजेको आरोप लगाए । उनका अनुसार उपचारका क्रममा पहिले सहमतिभन्दा धेरै शुल्क असुल्न खोजिएको थियो ।
तर, अस्पतालका सञ्चालक डा. विजय राउतले यो आरोप अस्वीकार गर्दै भने, ‘४०–४५ जना घाइतेहरूको उपचार हामीले गर्यौं । उनीहरूलाई बन्धक बनाइएको थिएन । अब चार–पाँच जना विरामी बाँकी हुँदा मात्र अस्पतालले बन्धक बनाएको भन्नु हास्यास्पद र निन्दनीय छ ।’
विवाद चर्किएपछि अस्पतालमा केही बेर तनावपूर्ण अवस्था सिर्जना भएको थियो । अस्पताल प्रशासनले प्रहरीलाई खबर गरेपछि अवस्था नियन्त्रणमा आएको थियो ।
न्युरो अस्पताल प्रशासनले अस्पतालमा तोडफोड गर्नेहरूमाथि कारबाहीको माग गरेको छ । ‘हामीले घाइतेहरूको उपचार गरिरहेका थियौं । व्यवसायीहरू आफैंले खर्च बेहोर्ने वाचा गरेका थिए । तर, अहिले आएर दबाब दिने, तोडफोड गर्ने काम सह्य हुँदैन,’ अस्पताल प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

