काठमाडौं, २२ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको जलेश्वरस्थित भूमिसुधार तथा मालपोत कार्यालयका तीन कर्मचारीमाथि ३५ हजार रुपैयाँ घुस लिएको अभियोगमा विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मुद्दामा खरिदार मुन्नु कुमार दास, नायब सुब्बा दिपेन्द्र नारायण चौधरी र लेखापढी कानुन व्यवसायी जिवछ महतो संलग्न रहेका छन् । उनीहरूलाई सेवाग्राहीसँग जग्गा ट्रायल चेक गरी नक्सा सुधारका लागि सहजीकरण गरिदिने भन्दै अवैध रुपमा रकम माग गरिरहेको उजुरीको आधारमा अख्तियारको बर्दिवास कार्यालयबाट खटिएको टोलीले रंगेहात पक्राउ गरेको थियो ।

अख्तियारको अनुसन्धान अनुसार तीनै जना मिलेर सेवाग्राहीबाट ३५ हजार रुपैयाँ घुस लिएको स्पष्ट प्रमाण फेला परेको छ । उनीहरूले आफ्नो अधिकारको दुरुपयोग गर्दै नियतवश सेवा प्रवाहमा बाधा पुर्याउँदै गैरकानुनी आर्थिक लाभ लिएको अख्तियारको निष्कर्ष छ ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार उनीहरूविरुद्ध कडा कानूनी कारबाहीको माग गर्दै मुद्दा दायर गरेको हो । खरिदार मुन्नु कुमार दास र नायब सुब्बा दिपेन्द्र नारायण चौधरीमाथि उक्त ऐनको दफा ३ (१) र संशोधित दफा ३ (१)(ख) अन्तर्गत अभियोग लगाइएको छ । त्यस्तै, लेखापढी कानुन व्यवसायी जिवछ महतोमाथि ऐनको दफा २० बमोजिम मुद्दा चलाइएको छ । उक्त दफाले भ्रष्टाचारमा संलग्न हुने व्यक्तिलाई दोषी ठहर गरी उपयुक्त कारबाहीको व्यवस्था गर्छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घटनाबारे सार्वजनिक गर्दै सरकारी कार्यालयमा देखिएको यस प्रकारको अनियमितता र भ्रष्ट कार्यशैलीप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । साथै, आयोगले भविष्यमा पनि यस्ता अवैध क्रियाकलापविरुद्ध कठोर कदम चाल्ने स्पष्ट प्रतिबद्धता जनाएको छ ।