रौतहट, २२ चैत । रौतहट उद्योग वाणिज्य संघमा आन्तरिक विवाद चुलिँदै गएको छ । संघको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संघकै सदस्य व्यवसायीहरूको एक समूहले शुक्रबार संघको कार्यालयको मुख्य प्रवेशद्वारमा तालाबन्दी गरेका छन् । उनीहरूले संघको नेतृत्वमा रहेका व्यक्तिहरूले नीजि स्वार्थका लागि संघलाई बन्धक बनाएको आरोप लगाएका छन् ।

व्यवसायी राकेशकुमार झा, विकास विक्रम साह, कौशल साहलगायतले संघको मुल गेटमा ताला लगाएर विरोध जनाएका हुन् । उनीहरूको भनाइमा संघको कार्यसमिति अध्यक्ष पण्डितप्रसाद जयसवाल र महासचिव रबिन्द्रनाथ गोपालीले मर्यादित संस्थालाई व्यक्तिगत स्वार्थको खेल मैदान बनाएका छन् ।

व्यापारी विकास विक्रम साहका अनुसार संघको विशेष साधारणसभा र अधिवेशन चैत २३ गतेका लागि तोकिएको थियो । तर, अध्यक्ष जयसवालले अधिवेशन स्थगनको निर्णय लिएपछि आन्तरिक कलह सतहमा आएको हो । विपरित धारका महासचिव रबिन्द्रनाथ गोपालीले भने निर्धारित समयमै सूचना जारी गर्दै अधिवेशन अगाडि बढाउनुपर्ने अडान राखेका छन् ।

‘संघको विधानलाई बाइपास गर्दै नयाँ सदस्यता दर्ता गर्ने, स्वार्थअनुसार निर्णय लिने र अधिवेशन स्थगनजस्ता कदमले हाम्रो आस्था र भरोसामा चोट पुगेको छ,’ साहले बताए ।

संघका महासचिव गोपालीले संघको वर्तमान कार्यसमितिको पदावधी यही चैत २६ गते सकिने जनाउँदै समयमै नयाँ नेतृत्व चयन आवश्यक रहेको बताए । उनले कार्यकाल समाप्ति नजिकिँदै गर्दा अध्यक्षको निर्णय एकतर्फी र नियोजित भएको आरोप लगाए ।

‘संविधानअनुसार हामीले चैत २३ गते अधिवेशन गर्नुपर्ने हो । तर, अध्यक्षले जनप्रतिनिधित्वको मूल मर्म बिर्सेर पद टिकाउने खेल खेलेका छन्,’ गोपालीको भनाइ छ ।

तालाबन्दीपछि संघभित्रको आन्तरिक असमझदारी सार्वजनिक रुपमा देखिएको छ । स्थानीय व्यापारी रामकुमार गुप्ताले भने, ‘संघजस्तो साझा संस्थालाई व्यक्तिगत स्वार्थको अखडामा बदल्नु दुर्भाग्यपूर्ण छ । समाधान संवादबाट खोजिनुपर्छ, तालाबन्दी समाधान होइन ।’