जनकपुरधाम, २२ चैत । मधेश प्रदेशमा लामो समयदेखि चलिरहेको राजनीतिक गतिरोध अन्त्य हुँदै गर्दा एक निर्णय सार्वजनिक भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चैत २६ गते मधेश प्रदेश सभालाई सम्बोधन गर्ने पक्का भएको छ । शुक्रबार बिहान बसेको सर्वदलीय बैठकले उक्त निर्णय गरेको हो ।

बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका प्रदेश सांसद तथा पूर्वमन्त्री युवराज भट्टराईले उक्त जानकारी दिँदै भने, ‘प्रधानमन्त्रीको सम्बोधनले प्रदेश र संघीय सरकारबीचको सम्बन्ध सुदृढ बनाउन योगदान पुर्याउने विश्वास गरिएको छ ।’

गत केही हप्तादेखि मधेश प्रदेशमा योजना चिठी वितरण र भ्रष्टाचारसम्बन्धी आरोपका कारण संसद् अवरुद्ध हुँदै आएको थियो । प्रमुख विपक्षी दल जसपा नेपाल र माओवादी केन्द्रले योजनाको चिठी अनधिकृत रूपमा वितरण भएको, कमिसनमा बेचिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएका थिए । हालै मात्र सर्वदलीय बैठकबाट तीन बुँदे सहमति भएपछि संसद् सञ्चालनमा फर्कन लागेको हो ।

प्रधानमन्त्री ओलीले प्रदेशका समसामयिक राजनीतिक, आर्थिक र सामाजिक मुद्दाहरूमा धारणा राख्ने र सरकारको भावी योजना प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्रीको सम्बोधनका लागि विशेष तयारी थालिएको बताइएको छ । मधेश प्रदेश सरकारले समेत प्रधानमन्त्रीको आगमनलाई विशेष महत्वका रूपमा लिँदै सुरक्षा र व्यवस्थापनमा चासो देखाएको छ ।