जनमत पार्टीका उपाध्यक्ष साह ६ महिनाका लागि निलम्बित

जनकपुरधाम, २२ चैत । जनमत पार्टीले आफ्ना उपाध्यक्ष तथा अनुशासन समिति संयोजक दीपककुमार साहलाई पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको छ ।
महोत्तरीको बर्दिबासमा बस्न लागेको केन्द्रीय समितिको बैठकअघि पार्टीले साहलाई सात दिने स्पष्टीकरण सोधेको थियो । तर, उनीद्वारा पेश गरिएको उत्तर असन्तोषजनक भएको जनाइएको छ ।
पार्टीको निर्णयअनुसार साहमाथि संगठनमा तोकिएको जिम्मेवारीअनुसार भूमिका ननिभाएको, पार्टी अध्यक्ष डा. सीके राउतविरुद्ध गुटगत गतिविधि गरेको, आन्तरिक निर्णयको उल्लंघन गरेको लगायतका आरोप लगाइएको छ ।
साहले भने आफूविरुद्ध लगाइएका आरोपहरू तथ्यहीन र निराधार रहेको दाबी गर्दै ‘आफूमाथि लागेको कुनै पनि आरोप पुष्टि हुने प्रमाण पार्टीले पेस गर्न सकेको छैन’ भन्दै लिखित रूपमा स्पष्टीकरण बुझाएको जानकारी दिएका छन् । उनले निलम्बनबारे प्रतिक्रिया दिँदै भने, ‘पार्टीभित्र स्वस्थ बहस र आन्तरिक लोकतन्त्रको पक्षमा उभिएको कारण मलाई निलम्बन गरिएको हो ।’
जनमत पार्टीभित्र पछिल्लो समय आन्तरिक असहमति र गुटगत मनोवृत्तिका खबरहरू सार्वजनिक भइरहेका छन् । अध्यक्ष सीके राउतको नेतृत्वमा पार्टी सुदृढ बनाउन केन्द्रीय संरचना पुनःगतिशील बनाउने तयारी गरिरहेका बेला यो निलम्बन घटनाले पार्टीभित्रको मतभेद थप चुलिने संकेत देखिएको छ ।
६ महिनासम्म पार्टीका कुनै पनि जिम्मेवारीबाट टाढा रहनुपर्ने निलम्बनको निर्णयले साहको भूमिकामा तत्काल प्रभाव पर्नुका साथै पार्टीको अनुशासन प्रणालीमा समेत प्रश्न उठाएको छ । यता, पार्टी निकट स्रोतहरूका अनुसार साह निलम्बनको विषयलाई लिएर आन्तरिक रूपमा पुनरावलोकन माग गर्नसक्ने सम्भावना पनि छ ।
साह पार्टीका स्थायी समिति सदस्यसमेत हुन् र अनुशासन समितिको संयोजकको हैसियतले लामो समयदेखि कार्यरत थिए । उनले जनमत पार्टीको संगठन विस्तारमा विशेष भूमिका खेलेका थिए ।

