मधेश प्रदेशका करार स्वास्थ्यकर्मीको तलब समस्या समाधानतर्फ मुख्यमन्त्री सिंहको गम्भीर चासो

जनकपुरधाम, २२ चैत । मधेश प्रदेशका अस्पताल र स्थानीय तह अन्तर्गत कार्यरत छात्रवृत्तिमा आधारित करार सेवाका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले केही महिनादेखि तलब नपाएको गुनासो गर्दै आएका थिए । यसै सन्दर्भमा प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले गम्भीर ध्यानाकर्षण जनाउँदै सम्बन्धित मन्त्रालयलाई तत्काल समस्या समाधान गर्न निर्देशन दिएका छन् ।
मुख्यमन्त्रीका प्रेस सल्लाहकार अनिलकुमार कर्णद्वारा बिहीबार जारी गरिएको विज्ञप्तिमा मुख्यमन्त्री सिंहले प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई संघीय सरकारबाट आवश्यक बजेट प्राप्त भइसकेको जानकारी गराउँदै दुई–तीन दिनभित्र प्रक्रियागत काम सम्पन्न गरी तलब वितरण सुनिश्चित गर्न स्पष्ट निर्देशन दिएको उल्लेख छ ।
मुख्यमन्त्री सिंहले करारमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई तलब भुक्तानीमा ढिलाइ हुन नदिनका लागि मन्त्रालयलाई विशेष सतर्कता अपनाउन पनि आग्रह गरेका छन् । उनले भने, ‘आवश्यकता अनुसार स्वास्थ्य सेवा निरन्तरता दिनुपर्ने भएकाले कर्मचारीहरूको मनोबल उच्च राख्नु अति आवश्यक छ । भविष्यमा यस्ता समस्या नदोहोरियोस् भन्ने सुनिश्चितता प्रदेश सरकारको प्राथमिकता हो ।’

नेपाल चिकित्सक संघ मधेश प्रदेश समितिले करारमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको समस्या समाधानका लागि गरेको पहल तथा ध्यानाकर्षणलाई मुख्यमन्त्रीले सकारात्मक रूपमा लिँदै धन्यवाद व्यक्त गरेका छन् । समितिले पटक–पटक तलब नपाएको विषयमा सरोकारवाला निकायहरूसँग छलफल गर्दै आएको थियो ।
मुख्यमन्त्री सिंहको तर्फबाट आएको यो स्पष्ट निर्देशनसँगै करारमा कार्यरत स्वास्थ्यकर्मीहरूले चाँडै आफ्नो तलब पाउने आशा गरिएको छ ।

