राराब क्याम्पसका प्रमुख कर्णमाथि कालोमोसो

जनकपुरधाम, २१ चैत । जनकपुरस्थित राराब क्याम्पसका प्रमुख प्रा. डा. बसन्त कर्णमाथि दुई नकाबधारी व्यक्तिहरूले कालोमोसो दलेका छन् । बिहीबार बेलुकी ४ः२० बजेको समयमा क्याम्पस परिसरमै उनीमाथि यो आक्रमण भएको हो । धनुषा प्रहरीले घटनाबारे अनुसन्धान अगाडि बढाएको जनाएको छ ।
घटनाका प्रत्यक्षदर्शीहरूका अनुसार दुई जना मास्क लगाएका व्यक्ति अचानक आएर कर्णमाथि कालोमोसो दलेर फरार भएका थिए । यद्यपि, घटनाको ठोस कारण खुलेको छैन । तर, क्याम्पसकै केही व्यक्तिहरू यस घटनामा संलग्न हुन सक्ने आशंका गरिएको छ ।
धनुषा प्रहरीका प्रवक्ता डीएसपी बरुण बहादुर सिंहका अनुसार घटनापछि सुरक्षाकर्मीहरू परिचालित भइसकेका छन् । कालोमोसो दल्ने व्यक्तिहरूको खोजी भइरहेको छ ।
कर्णमाथि कालोमोसो दलिनुको पछाडिको वास्तविक कारण अहिलेसम्म खुल्न सकेको छैन । तर, क्याम्पस प्रशासनसँग असन्तुष्ट कुनै समूहले यो काम गराएको हुनसक्ने आशंका छ ।
क्याम्पसभित्रै केही विवादहरू रहेको क्याम्पस स्रोतले जनाएको छ । नाम उल्लेख नगर्ने सर्तमा क्याम्पसका एक प्राध्यापकले भने, ‘केही समयदेखि क्याम्पस प्रशासनसँग असन्तुष्टि राख्ने समूहहरू सक्रिय थिए । यो घटनामा क्याम्पसकै केही व्यक्ति संलग्न हुन सक्ने सम्भावना छ ।’
राराब क्याम्पसका एक विद्यार्थी नेताले भने, ‘क्याम्पसमा विभिन्न विषयमा विवादहरू छन् । यदि समाधान नगर्ने हो भने यसले झनै तनाव बढाउन सक्छ ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


