अधुरो संघर्ष पूरा गर्नका लागि नयाँ मोर्चा आवश्यक : महतो

काठमाडौं, २१ चैत । देशमा उत्पन्न राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै विभिन्न दलहरूको समावेशी सहभागितामा संघीय लोकतान्त्रिक मोर्चा गठन गरिएको छ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले दुई ठूला दलहरूले देशमा राजनीतिक अस्थिरता ल्याएको आरोप लगाउँदै मोर्चा गठन गर्नुको बाध्यता रहेको बताएका छन् ।
मोर्चा घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष महतोले विगतका आन्दोलनहरू अपूरो रहेको र तिनलाई निष्कर्षमा पुर्याउन नयाँ संघर्ष आवश्यक रहेको उल्लेख गरे । उनले भने, ‘देशमा थुप्रै आन्दोलन भए, तर ती सबै संघर्ष अधुरै रहे । ती अधुरा आन्दोलन पूरा गर्न र नेपाली जनताको अधिकार सुरक्षित गर्न हामीले मोर्चा गठन गरेका हौं ।’
महतोले नेपाललाई सबै जाति, धर्म, भाषा र संस्कृतिको साझा भूमि बनाउनुपर्ने आवश्यकता औंल्याउँदै संविधान जारी गर्ने क्रममा एकल सोच राखेर शासन चलाइएको आरोप लगाए । उनका अनुसार सरकारको कमजोरीकै कारण प्रतिगमनकारीहरू फेरि शक्तिशाली बन्न थालेका छन् ।
महतोका अनुसार ठूला राजनीतिक दलहरूले सत्ता लिप्सामा मात्रै ध्यान दिँदा मुलुकमा जनताका वास्तविक मुद्दाहरू ओझेलमा परेका छन् । उनले थपे, ‘मृत भइसकेको शासन व्यवस्था फेरि जीवित हुनु भनेको अहिलेको शासकको कारणले भएको हो । यी शासकहरूले आफ्नै देशका जनतालाई अधिकार दिन मानेनन् । शासकको गलत चिन्तन र सोचका कारण देशमा अहिलेको अवस्था आएको हो ।’
उनले राज्य सञ्चालन गर्न नसकेको आरोप लगाउँदै ठूला दलहरूकै असफलताका कारण देश राजनीतिक अस्थिरतामा फसेको बताए । उनका अनुसार अहिले गठित मोर्चाले अन्य अधिकारवादी दलहरूसँग सहकार्य गर्दै संयुक्त संघर्ष अघि बढाउने योजना बनाएको छ ।
कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्लाले उत्पीडित जनताको चाहनाले संघीय लोकतान्त्रिक मोर्चा गठन भएको बताए । उनले भागबण्डाको राजनीतिले गर्दा मुलुकको राजनीतिक अवस्था सुधार हुन नसकेको टिप्पणी गरे ।
शुक्लाले भने, ‘यो देशमा भागबण्डाको राजनीति रहन्छ, तबसम्म यो देशको राजनीतिक अवस्था सुधार हुँदैन ।’ उनका अनुसार साना दलहरूलाई राजनीतिक रूपमा समाप्त पार्ने षड्यन्त्र भइरहेको छ । यसको प्रतिवाद गर्न यो मोर्चा गठन गरिएको हो ।
मोर्चाका नेताहरूका अनुसार आगामी दिनमा यो गठबन्धनले संघीयता, समावेशी लोकतन्त्र, पहिचान र अधिकार जस्ता मुद्दाहरूमा व्यापक अभियान सञ्चालन गर्नेछ । विभिन्न मधेशवादी, आदिवासी, दलित, जनजाति तथा अन्य उत्पीडित वर्गका पार्टीहरूलाई मोर्चामा समावेश गर्न आह्वान गरिएको छ ।
महतोले अब मोर्चा एक्लाएक्लै लड्नेभन्दा पनि संगठित संघर्ष मार्फत परिवर्तन ल्याउने पक्षमा रहेको बताए । ‘हामी विगतमा एक्लाएक्लै लड्यौं, तर परिवर्तन अधुरो रह्यो । अब हामी सबै उत्पीडित वर्गका दलहरूलाई एक ठाउँमा ल्याएर नयाँ संघर्षको थालनी गर्नेछौं,’ उनले भने ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


