जनकपुरधाममा चैती छठको महापर्वमा भक्तजनको उत्साह

जनकपुरधाम, २१ चैत । मिथिलाञ्चलको महापर्व चैती छठको अवसरमा जनकपुरधामका प्रमुख सरोवरहरूमा बिहानैदेखि भक्तजनहरूको भीड लागेको छ । चार दिवसीय छठ महापर्वको पहिलो दिन ‘नहाय खाय’, दोस्रो दिन ‘खरना’, तेस्रो दिन आज अस्ताउँदै गरेको सूर्यलाई अघ्र्य अर्पण गर्ने र चौथो दिन उदाउँदो सूर्यलाई अघ्र्य दिने परम्परा रहेको छ ।
छठ पर्वको विशेषता भनेको यसको आधिकारिक पूजा पोखरी र नदीमा मात्र गर्नुपर्ने परम्परा हो । यस पर्वको अवसरमा जनकपुरधामका प्रमुख पोखरीहरू जस्तै गंगासागर, अंगराज सर, दशरथ तलाउलाई विशेष रूपमा सजाइएको छ । भक्तजनहरू आज साँझ परम्परागत फलफूल जस्तै केरा, भुसबा, ठकुवा, नरिवल, उखु, मुला आदि लिएर सूर्यलाई अघ्र्य अर्पण गर्ने भएका छन् ।
पौराणिक कथनअनुसार आदिकालमा सती अनुसूयाले रोगग्रस्त पतिलाई निको पार्न भगवान सूर्य र षष्ठी देवीको पूजा आराधना गरेका थिए । महाभारत कालमा पनि पाँच पाण्डवकी पत्नी द्रौपदीले कौरवहरूको पराजयको लागि सूर्यदेवको उपासना गर्दै छठ पर्व मनाएको उल्लेख पाइन्छ ।
यस पर्वलाई मनाउँदा भक्तजनहरू दुःख र क्लेशबाट मुक्ति पाउने, सन्तान प्राप्ति हुने, चर्मरोग निको हुने तथा पारिवारिक सुख र शान्ति कायम रहने विश्वास राख्छन् । यही कारणले भक्तजनहरू श्रद्धा र विश्वासका साथ यो पर्व मनाउन जुटेका छन् ।
जनकपुरधाममा यस पर्वको महत्व र परम्परा वर्षमा दुईपटक मनाइन्छ – एक कात्तिक महिनामा र अर्को चैत महिनामा । प्रत्येक वर्ष भक्तजनहरूले यस पर्वको अवसरमा विशेष श्रद्धा र भक्ति प्रदर्शन गर्दै सूर्यदेव र षष्ठी देवीको पूजा आराधना गर्दै जनकपुरधामको वातावरणलाई धार्मिक र सांस्कृतिक दृष्टिले विशेष बनाइरहेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


