जनकपुरधाम, २१ चैत । जनकपुरधाम सुनचाँदी व्यवसायी संघका वरिष्ठ सदस्य एवम् न्यू अलंकार ज्वेलर्सका सञ्चालक सुरेश महतोको बुधबार राति करिब १० बजे हृदयघातका कारण मृत्यु भएको छ । उनलाई अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ ।

सुनचाँदी व्यवसायी संघले परम्पराअनुसार मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्न बिहीबार एक दिनका लागि सम्पूर्ण सुनचाँदी पसलहरू बन्द गरेका छन् ।

संघका उपाध्यक्ष राजिव कुमार चन्दनले भने, ‘सुरेश महतोजस्तो अनुभवी व्यवसायीको असामयिक निधनले हाम्रो व्यवसायिक समुदायलाई अपूरणीय क्षति पुगेको छ । हामी उनको सम्झनामा एक दिन व्यवसाय स्थगन गर्दै श्रद्धाञ्जली अर्पण गर्दैछौं ।’

महतोको निधनमा संघका पदाधिकारी तथा व्यवसायीहरूले गहिरो दुःख व्यक्त गरेका छन् । उनले सुनचाँदी व्यवसायको क्षेत्रमा पुर्याएको योगदान स्मरणीय रहने बताइएको छ ।

सुनचाँदी व्यवसायीहरूले उनको आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनलाई धैर्य धारण गर्न माता जानकीसँग प्रार्थना गरेका छन् ।