जनकपुरधाम, २१ चैत । जनकपुरधाम उपमहानगरपालिकाले नगरका सम्पूर्ण विद्यालयका पाठ्यपुस्तकमा एकरूपता ल्याउने निर्णय गरेको छ । नगर शिक्षा समिति तथा निजी विद्यालय संगठन (प्यावसन) का नगर संयोजक दीपक ठाकुरले बिहीबार एक विज्ञप्ति जारी गर्दै निर्णयबारे जानकारी दिएका छन् ।

ठाकुरले भने, ‘विद्यार्थीहरूलाई समान शैक्षिक अवसर उपलब्ध गराउनु हाम्रो प्राथमिकता हो । यस निर्णयले शिक्षामा गुणस्तर अभिवृद्धि गर्दै विद्यार्थीहरूलाई समान अध्ययन वातावरण उपलब्ध गराउनेछ ।’ उनले स्थानीय शिक्षा समितिहरू र सरोकारवालाहरूसँग समन्वय गरेर प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरे ।

प्यावसन, एनप्यावसन, एमप्यावसन र नेपाल प्यावसनबीच छलफल गरी नगरका निजी तथा संस्थागत विद्यालयहरूमा एउटै पाठ्यपुस्तक प्रयोग गर्ने सहमति भएको छ । नगर शिक्षा समितिका तर्फबाट जारी विज्ञप्तिमा पाठ्यपुस्तकको छनोट पाठ्यक्रम विकास केन्द्रद्वारा स्वीकृत पाठ्यक्रममा आधारित हुने उल्लेख गरिएको छ ।

नगर संयोजक ठाकुरका अनुसार आउँदो आइतबार अर्को विज्ञप्ति प्रकाशन गरी पाठ्यपुस्तकको नामावली सार्वजनिक गरिनेछ । शिक्षा समितिले छनौट गर्ने पाठ्यपुस्तक गुणस्तरयुक्त र नयाँ पाठ्यक्रम अनुसार हुने जनाइएको छ ।