जनकपुरधाम, २० चैत ।
ऐतिहासिक तथा धार्मिक आस्थाको केन्द्र जानकी मन्दिरको गरिमा र सुरक्षाका विषयमा पटक–पटक प्रश्न उठ्दै आएको छ । हालै एक घटनाले पुनः सुरक्षा प्रोटोकलमाथि गम्भीर प्रश्नचिह्न खडा गरेको छ ।

बुधबार बिहान करिब ११ बजे रिपोर्टिङका लागि जानकी मन्दिर परिसरमा पुगेका बेला अनौठो दृश्य देख्न पाइयो । मन्दिरको पश्चिमतर्फको ढोका खोलेर एक जना प्रहरीले निजी नम्बर प्लेटको गाडी मन्दिरभित्र प्रवेश गराइरहेका थिए । प्रदेश २–०३ ००१ च ६०३७ नम्बरको स्कारपियो मन्दिर परिसरभित्र लगेर पार्किङ गरिएको थियो । उक्त गाडीबाट करिब ८ जना ओर्लिए र ती प्रहरीसँगै मन्दिरभित्र छिरे ।

उक्त दृश्य शंकास्पद देखिएपछि म पनि उनीहरूको पछि लागेँ । ती प्रहरी मन्दिरको भित्री परिसरभित्र रहेको पर्यटक प्रहरी कार्यालयतर्फ लागे । जिज्ञासाले मलाई पनि उनीहरूका गतिविधि नियाल्न बाध्य बनायो । प्रहरी कार्यालयभित्र पुगेपछि ती सुरक्षाकर्मीलाई नाम सोध्दा उनले आफू वरिष्ठ हवल्दार प्रमोद चौधरी भएको जानकारी दिए । चौधरीसँग तपाईंले मन्दिरभित्र गाडी किन छिराउनु भयो भनेर सोध्दा उनले भने, ‘मेरा मामा–माइजुहरू जनकपुर घुम्न आएका थिए । जानकी मन्दिर दर्शन गर्न आउँदा मैले उनीहरूको गाडी मन्दिरमै ल्याएको हुँ ।’

तर, प्रश्न उठ्छ—सर्वसाधारण भक्तजनका लागि सवारीसाधन मन्दिर परिसरभित्र लैजान पूर्णतः प्रतिबन्धित रहे पनि सुरक्षाकर्मीका आफन्तलाई यस्तो विशेष सुविधा किन ? यसअघि विभिन्न मन्त्री तथा विशिष्ट व्यक्तिहरूले सरकारी तथा निजी सवारीसाधनहरू बिना रोकटोक मन्दिर परिसरमा प्रवेश गराएको कुनै नौलो घटना होइन । तर, मन्दिर सुरक्षार्थ खटिएका प्रहरीले आफ्नै आफन्तलाई यस्ता विशेष सुविधा प्रदान गर्नु कत्तिको नैतिक र उचित हो ?

जानकी मन्दिरको ऐतिहासिक महत्व तथा धार्मिक पवित्रता कायम राख्न सुरक्षा नियमको पालना आवश्यक छ । तर, सुरक्षाकर्मी स्वयंले नै यस्तो भेदभावपूर्ण व्यवहार देखाउनु आस्थावान श्रद्धालुहरूका लागि अन्यायपूर्ण देखिन्छ । सम्बन्धित निकायले यसबारे गम्भीर ध्यान दिएर आवश्यक कारबाही तथा सुधारको पहल गर्नु आवश्यक देखिन्छ ।