जनकपुरधाम, २० चैत । जनकपुरधाम उपमहानगरपालिकाका नगर शिक्षा समिति सदस्य दीपक ठाकुरले नगर क्षेत्रका निजी विद्यालयहरूमा पाठ्यपुस्तकको एकरूपता अनिवार्य गर्नुपर्ने बताउँदै शिक्षा प्रणालीमा रहेको सिन्डिकेट अन्त्य गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

उपमहानगरपालिकाले शिक्षाको गुणस्तर सुधार गर्न पाठ्यपुस्तक, शुल्क निर्धारण र शैक्षिक सुधारका लागि लिएको नीतिहरू सराहनीय रहेको बताउँदै उनले विद्यालयहरूलाई विद्यार्थीमुखी बनाउनु पर्ने आवश्यकता औंल्याए ।

ठाकुरले शिक्षा सुधारका लागि उपमहानगरपालिकाले लिएका कदमहरूको प्रशंसा गर्दै भने, ‘हामी जनकपुरधामका विद्यालयहरूलाई किताबको व्यापारी बनाउने पक्षमा छैनौं । हाम्रो प्राथमिकता विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्नु हो ।’

उनका अनुसार उपमहानगरपालिकाले विद्यालयहरूमा एकरूप पाठ्यपुस्तकको व्यवस्था गर्न र नयाँ शैक्षिक सत्रसँगै अद्यावधिक (अपडेटेड) किताबहरू अनिवार्य बनाउनुपर्ने आवश्यकता छ ।

ठाकुरले विगत १० वर्षदेखि काठमाडौंमा थन्क्याइएका पाठ्यपुस्तकहरूलाई नयाँ सत्रमा लागू गर्नुपर्ने कुनै आवश्यकता नरहेको बताउँदै त्यसलाई आर्थिक स्वार्थका लागि प्रयोग गर्ने विद्यालयहरूले कारवाहीको सामना गर्नुपर्ने चेतावनी दिए ।

उनले विद्यालयहरूले शिक्षाको मापदण्ड कायम गर्न उपमहानगरपालिकाको नीति पालना गर्नुपर्ने भन्दै भने, ‘कुनै पनि विद्यालयमा पाठ्यपुस्तक तथा पोशाक बिक्री गर्न पाइँदैन ।’ उपमहानगरपालिकाले यसबारे स्पष्ट परिपत्र जारी गरिसकेको उनले जानकारी गराए ।

ठाकुरले आउँदै गरेको शैक्षिक सत्र २०८२ मा सबै विद्यालयहरूले अद्यावधिक पाठ्यपुस्तक अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने बताउँदै भने, ‘सिलेबसलाई समयानुसार सुधार गर्न आवश्यक छ । पुराना पाठ्यपुस्तकहरू थन्क्याएर राख्नु र त्यसलाई विद्यार्थीहरूमाथि थोपर्नु गलत हो ।’

उनले शिक्षा सुधारका लागि दीर्घकालिक योजना आवश्यक रहेको बताउँदै उपमहानगरपालिकाले विद्यालयहरूको अवस्थामाथि निरन्तर निगरानी राख्नुपर्ने बताए ।

ठाकुरले शिक्षा क्षेत्रलाई समृद्ध बनाउनका लागि सरकार, विद्यालय प्रशासन, अभिभावक र विद्यार्थीहरू सबैको सहकार्य आवश्यक रहेको बताउँदै भने, ‘हामी विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणका लागि कटिबद्ध छौं ।’

उनले उपमहानगरपालिकाले शिक्षा सुधारका लागि थप रणनीतिहरू ल्याउने प्रतिबद्धता व्यक्त गर्दै गुणस्तरीय शिक्षा सुनिश्चित गर्न सबै सरोकारवालाहरूलाई सहयोग गर्न आह्वान गरेका छन् ।