जानकी मन्दिरमा धार्मिक सूचना हटाएर भारतीय कलेजको बोर्ड

जनकपुरधाम, २० चैत । विश्वप्रसिद्ध जानकी मन्दिरमा धार्मिक सूचनासम्बन्धी बोर्ड हटाएर भारतीय कलेज तथा युनिभर्सिटी र एनसेलको विज्ञापन बोर्ड राखिएको छ । यसले स्थानीयवासी, धार्मिक संघसंस्था तथा सरोकारवालाहरूको ध्यान तानेको छ ।
जानकी मन्दिरको लक्ष्मण मन्दिर अगाडि विगत लामो समयदेखि धार्मिक सूचना तथा तीर्थयात्रासम्बन्धी जानकारी समेटिएको बोर्ड राखिएको थियो । तर, हाल सो बोर्ड हटाएर एक निजी कन्सल्टेन्सीमार्फत भारतीय विश्वविद्यालय र एनसेलको बोर्ड राखिएको पाइएको छ ।
जानकी मन्दिर व्यवस्थापन समिति र जिल्ला प्रशासन कार्यालय धनुषाले संयुक्त बैठकमार्फत मन्दिर क्षेत्रमा धार्मिक बाहेक अन्य कुनै पनि बोर्ड नराख्ने निर्णय गरेको थियो । तर, सो निर्णय विपरीत जनकपुरस्थित भिजन प्वाइन्ट नेपाल नामक कन्सल्टेन्सी र एनसेलले बिना अनुमति भारतीय युनिभर्सिटीको बोर्ड राखेको खुलासा भएको छ ।
बोर्ड राख्ने कन्सल्टेन्सीले कुनै आधिकारिक स्वीकृति नलिई यसो गरेको जनाइएको छ । यसअघि सो स्थानमा १५ दिने माध्यमिकी परिक्रमा को रुटसम्बन्धी जानकारी दिने बोर्ड राखिएको थियो । धार्मिक महत्त्व बोकेको सो सूचना बोर्ड हटाएर भारतीय शिक्षालयको प्रचार सामग्री राखिँदा स्थानीय धर्मावलम्बी तथा धार्मिक संस्थाहरूले आपत्ति जनाएका छन् ।

मन्दिर क्षेत्रमा धार्मिक सूचना हटाएर व्यावसायिक तथा शैक्षिक संस्थाका विज्ञापन राखिएको यो पहिलो घटना भने होइन । जानकी मन्दिरजस्तो ऐतिहासिक र धार्मिक स्थलमै यस्तो गतिविधि हुन थालेपछि कतिपयले धार्मिक आस्थामाथिको प्रहार भएको बताइरहेका छन् ।
स्थानीय प्रशासन तथा मन्दिर व्यवस्थापन समिति भने यस विषयमा मौन बसेका छन् । यसबारे अहिलेसम्म कुनै आधिकारिक धारणा सार्वजनिक नगरिएको भन्दै धार्मिक संघसंस्थाले चासो देखाएका छन् ।
जानकी मन्दिरजस्तो ऐतिहासिक तथा धार्मिक स्थलमा धार्मिक सूचनाहरू हटाएर अन्य व्यावसायिक बोर्डहरू राख्न नपाउने निर्णय भए पनि यसको पालना नभएको देखिएको छ । यसबारे सम्बन्धित निकायले तत्काल छानबिन गरी कारबाही गर्नुपर्ने स्थानीय धार्मिक समूहहरूको माग छ ।

यस घटनाले धार्मिक पर्यटनको महत्त्व बोकेको जनकपुरधाममा विभिन्न व्यावसायिक स्वार्थले धार्मिक मूल्यमान्यता मिच्ने क्रम बढ्दै गएको देखाएको छ । स्थानीय तथा धार्मिक समुदायले यस विषयमा कडा आपत्ति जनाउँदै व्यवस्थापन समितिलाई तुरुन्त हस्तक्षेप गर्न आग्रह गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


