वीरगंज, २० चैत । पर्सा जिल्लामा सशस्त्र प्रहरीले ठूलो मात्रामा प्रतिबन्धित लागू औषध बरामद गरेको छ । भारतको रक्सौलबाट वीरगंजतर्फ टाँगामा आउँदै गरेको अवस्थामा एक १३ वर्षीय किशोरलाई लागुऔषधसहित पक्राउ गरिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल पर्साबाट खटिएको टोलीले बुधबार साँझ ५ः५५ बजे वीरगंज महानगरपालिका–१६ स्थित सीमा क्षेत्रबाट शंकास्पद रूपमा टाँगामा यात्रा गरिरहेका एक बालकलाई जाँच गर्दा प्रतिबन्धित लागू औषध फेला पारेको थियो । पक्राउ परेका किशोर बारा जिल्लाको महागढीमाई नगरपालिका–१४ भौरा निवासी चन्दन सहनी रहेको खुलेको छ ।

सशस्त्र प्रहरीको टोलीले चेकजाँच गर्दा सहनीले बोकेको सेतो रंगको बोरामा माथिबाट आलु राखेर लुकाइएको अवस्थामा प्रतिबन्धित लागू औषध फेला परेको थियो । बरामद लागू औषध (एसक्विजर, एस्केप, कोडिन फस्फेट सिरप) गरी ५० बोतल रहेको छ । लागू औषधलाई आलुको बोराभित्र लुकाएर नेपाल भित्र्याउने प्रयास गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

सशस्त्र प्रहरीले तत्काल सहनीलाई पक्राउ गरी बरामद लागू औषधसहित आवश्यक कारबाहीका लागि प्रहरी चौकी इनर्वामा बुझाइएको जानकारी गराएको छ । लागू औषध ओसारपसारको स्रोत, संलग्न अन्य व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी देवेन्द्र बहादुर सिंहले बताए ।

भारतसँग सीमा जोडिएको पर्सा र बाराको क्षेत्रमा लागू औषध तस्करीका घटना दिनप्रतिदिन बढ्दै गएका छन् । विशेष गरी बालबालिकालाई प्रयोग गरेर साना मात्रामा लागू औषध ल्याएर नेपालमा वितरण गर्ने गिरोह सक्रिय रहेको प्रहरीको भनाइ छ । सीमामा कडाइ गरे पनि विभिन्न उपाय अपनाएर तस्करी गर्ने प्रवृत्ति बढिरहेको देखिन्छ ।

सुरक्षा निकायले लागू औषध नियन्त्रणका लागि विशेष निगरानी बढाएको बताउँदै यस्ता अपराधमा संलग्न समूहलाई कारबाही गरिने प्रतिबद्धता जनाएको छ ।