पत्रकार रजकको जलेर मृत्यु भएको पुष्टि

काठमाडौं, २० चैत । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनको क्रममा आगजनीमा परेर मृत्यु भएका पत्रकार सुरेश रजकको पोस्टमार्टम सम्पन्न भएको छ ।
त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागका चिकित्सकका अनुसार रजकको मृत्यु जलेर भएको पुष्टि भएको हो ।
पोस्टमार्टमका क्रममा चिकित्सकहरूले रजकको शरीरमा गोलीको घाउ नभेटिएको र मृत्युको कारण जलेर भएको निष्कर्ष निकालेका छन् । त्रिवि शिक्षण अस्पतालका फोरेन्सिक चिकित्सकले भने, ‘रजकको शरीरबाट गोली भेटिएन, मृत्युको कारण जलेर भएको हो ।’ उनले थपे, ‘श्वासप्रश्वासको नलीमा धुँवाको मुस्लो गएको देखियो, जसबाट पुष्टि हुन्छ कि आगो लाग्दा उहाँ जीवित नै हुनुहुन्थ्यो ।’
रजकको शरीरमा गोली लागेको हल्लापछि एक्स–रे गर्न ढिलाइ भएको थियो । केही मिडिया र सामाजिक सञ्जालमा पत्रकार रजकलाई गोली लागेको भन्ने खबरहरू फैलिएका थिए । चिकित्सकहरूले एक्स–रे नगरी पोस्टमार्टम नगर्ने निर्णय गरेका थिए । एक्स–रे रिपोर्ट प्राप्त भएपछि मात्र बुधबार पोस्टमार्टम गरिएको चिकित्सकहरूले जनाएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


