जनकपुरधाम, २० चैत । मधेश प्रदेशसभामा देखिएको राजनीतिक अवरोध हटाउने प्रयास पुनः असफल भएको छ । बुधबार बोलाइएको सर्वदलीय बैठक सत्तापक्ष र विपक्षी दलका अडानमा कायम रहेपछि निष्कर्षविहीन रूपमा सम्पन्न भएको हो । बैठकको उद्देश्य प्रदेशसभा बैठकलाई सुचारु गर्ने प्रयास थियो । तर, विपक्षी दलका माग र सत्तापक्षको प्रतिकारका कारण कुनै समाधानमा पुग्न सकिएन ।

विपक्षी दलहरूले विभिन्न विषयमा छानविन समिति गठन गर्नुपर्ने माग गर्दै बैठक अवरुद्ध गरेका थिए । नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साहले भने, ‘सत्ता पक्षको अडान कायम रहेको र मन्त्रीहरूले पहिला सदनमा जवाफ दिने पृष्ठभूमिमा छानविन समिति गठन गर्ने विषयमा कुनै सहमति भएको छैन ।’ उनले थपे, ‘हामी छानविन समिति गठन गर्ने अडानमा छौं । तर, सत्ता पक्षले जवाफपछि मात्र छानविन समिति गठन गर्न चाहेको हो ।’

चैत १२ गतेको सर्वदलीय बैठकमा अवरोधका कारण प्रदेशसभा अनिश्चितकालका लागि स्थगित गरिएको थियो । त्यसैको निरन्तरता स्वरूप बुधबारको छलफल निष्कर्षविहीन रह्यो । विपक्षी दलहरूले मुख्यमन्त्री सतिशकुमार सिंहको भारत भ्रमण, योजना खरिद विक्री प्रक्रिया, सशर्त अनुदान लगायतका विषयमा संसदीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै बैठक अवरुद्ध गरेका थिए ।

सत्तापक्षले भने मन्त्रीहरूको जवाफपछि मात्रै छानविन समितिको विषयमा विचार गर्नुपर्ने अडान लिएको थियो । सत्तापक्षको तर्फबाट मुख्यमन्त्री सतिशकुमार सिंहले समेत बैठकमा सहभागिता जनाए । यद्यपि, सत्ता र विपक्ष बीचको असहमतिका कारण कुनै समाधानमा पुग्न सकिएको छैन ।

सभामुख रामचन्द्र मण्डलले पुनः सबै दलहरूको सहमति जुटाउन प्रयास गरेपनि बैठक निष्कर्षमा पुग्न सकेन । मण्डलले बैठकको अवरोध हटाउनका लागि सबै दलहरू बीच छलफल बोलाएका थिए । तर, यसमा पनि कुनै सकारात्मक नतिजा आउन सकेन ।

विपक्षी दलका नेता भरतप्रसाद साहले बैठकको अवरोध हटाउने प्रयास विफल भएको भन्दै प्रदेशसभा बैठकको भविष्य अनिश्चित भएको जनाए । उनले भनें, ‘यस्तो स्थिति रहिरहने हो भने प्रदेशसभा सञ्चालनका लागि चुनौती थपिँदै जान्छ ।’