काठमाडौँ, १९ चैत । नेपाल शिक्षक महासंघले बुधबारदेखि अनिश्चितकालीन सडक आन्दोलनको घोषणा गरेको छ । महासंघले मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत उक्त आन्दोलनको औपचारिक घोषणा गरेको हो ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार आन्दोलनको शुरुवात माघ २० गतेदेखि भएको थियो । यसक्रममा पालिका, जिल्ला र प्रदेश तहमा विभिन्न कार्यक्रमहरू सम्पन्न भएका छन् ।

महासंघले आफ्नो आन्दोलनको विभिन्न चरणहरू पनि पुरा गरिसकेको छ । पहिलो चरण अन्तर्गत गत फागुन २४ गते काठमाडौँमा वृहत् सडक आन्दोलन सभा सम्पन्न भएको थियो । यसपछि दोस्रो चरण अन्तर्गत २०८१ फागुन २७ गतेदेखि २०८१ चैत्र ५ गतेसम्म राजनीतिक दलहरूको केन्द्रीय कार्यालयमा धर्ना प्रदर्शन गरिएको थियो । त्यसपछि चैत ७ गतेदेखि १५ गतेसम्म शिक्षा र मानव स्रोत विकास केन्द्रको कार्यालय परिसरमा रिले अनशन गरिएको थियो ।

अब दोस्रो चरणको अन्तिम र निर्णायक कार्यक्रमको रूपमा महासंघले २०८१ चैत्र २० गतेदेखि ’काठमाडौं जाऔं अभियान’ अघि बढाउने निर्णय गरेको छ । यस अभियान अन्तर्गत देशभरका सबै शिक्षक कर्मचारीको सहभागितामा अनिश्चितकालीन शैक्षिक सडक आन्दोलनको शुरुवात हुनेछ ।

अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने, ‘हामीले स्थायी, राहत, साविक उमावि, सिकाइ अनुदान, बालविकास कक्षा, अस्थायीरकरार, प्राविधिक धार, विशेष शिक्षा र संस्थागत विद्यालयलगायत सबै प्रकृतिका शिक्षक र विद्यालय कर्मचारीका समस्याहरू समाधान गर्न नयाँ विद्यालय शिक्षा ऐन जारी नभएसम्म यो आन्दोलन निरन्तर जारी रहनेछ ।’

सुवेदीले भने, ‘हाम्रो आन्दोलन शान्तिपूर्ण, अनुशासित र मर्यादित हुनेछ । यो केवल शिक्षक कर्मचारीका पेसागत मागमुद्दासम्म सीमित छैन । यसले गुणस्तरीय विद्यालय शिक्षा र विद्यार्थीहरूको हितमा आवाज उठाउनेछ ।’

महासंघले शिक्षक कर्मचारीको पेसागत अधिकारको रक्षा गर्नका लागि लामो समयदेखि विभिन्न प्रयासहरू गर्दै आएको छ । वर्तमान आन्दोलनसँगै शिक्षकहरूले एसईई कापी जाँच नगर्ने समेत घोषणा गरेका छन् ।