महोत्तरी, १९ चैत । महोत्तरी प्रहरीले बर्दिबास नगरपालिका–३ बाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय बर्दिबास र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासको संयुक्त टोलीले २३५ किलो गाँजासहित एक मिनी ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएको हो ।

सोमबार साँझ ६ः४५ बजे बिपी राजमार्गअन्तर्गत सिन्धुलीबाट बर्दिबासतर्फ आउँदै गरेको बागमती प्रदेश–०१–००६ ख ५३७१ नम्बरको निलो मिनी ट्रकलाई जाँच गर्ने क्रममा ट्रकको हुडमा फल्स बटम बनाई कालो त्रिपालले छोपेर लुकाइएको अवस्थामा २० वटा पोकामा राखिएको गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा ट्रकका चालक मकवानपुर थाहा नगरपालिका–७ डाँडाबासका २७ वर्षीय कबिराज गोलेलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार पक्राउ परेका चालकमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रहरीले लागूऔषध ओसारपसार तथा तस्करी विरुद्धको निगरानीलाई अझ कडा बनाएको बताउँदै आगामी दिनमा थप कडाइ गरिने जनाएको छ । बर्दिबास क्षेत्रमा पछिल्लो समय लागूऔषध कारोबार र तस्करीको क्रम बढिरहेको भन्दै प्रहरी प्रशासनले निगरानीलाई तीव्र बनाएको जनाएको छ ।