पत्रकार र सञ्चार गृहको सुरक्षामा सरकार असफल

सप्तरी, १९ चैत । नेपाल पत्रकार महासंघ सप्तरीद्वारा आयोजित एक अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले राज्य पत्रकार र सञ्चार गृहको सुरक्षाप्रति गम्भीर नदेखिएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
मंगलबार सम्पन्न ‘पत्रकार र सञ्चार गृहको सुरक्षा राज्यको दायित्व’ विषयक कार्यक्रममा सहभागी वक्ताहरूले पत्रकारहरू निरन्तर आक्रमणको शिकार भइरहे पनि सरकारले प्रभावकारी सुरक्षा व्यवस्था गर्न नसकेको आरोप लगाए ।
वक्ताहरूका अनुसार व्यवस्थापरिवर्तनका आन्दोलनमा पत्रकारहरूको अग्रणी भूमिका रहे पनि सरकार पत्रकार तथा सञ्चार गृहहरूको सुरक्षामा असफल देखिएको छ । प्रजातान्त्रिक प्राध्यापक संघ सप्तरीका अध्यक्ष उमेश कुमार यादवले पत्रकार र सञ्चार गृहको सुरक्षामा सरकार गम्भीर हुनुपर्ने बताए । उनले पत्रकारहरू निरन्तर आक्रमणमा परिरहँदा राज्य मौन बस्नु दुःखद रहेको टिप्पणी गरे ।
सप्तरी जिल्ला बार एसोसिएसनका सचिव रामएकवाल मण्डलले संघीय लोकतान्त्रिक गणतन्त्रको भावना विपरीत सरकारले काम गर्दा पत्रकारहरू अझ जोखिममा परेको बताए । उनले पत्रकारमाथि आक्रमण हुनु व्यवस्थामाथिको नै हमला भएको जिकिर गरे ।
मानव अधिकारकर्मी तथा पत्रकार मनोहर पोखरेलले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी नभएसम्म नागरिक स्वतन्त्र हुन नसक्ने धारणा राखे । उनले गणतन्त्रको विकल्प निरंकुशता हुन नसक्ने भन्दै पत्रकारको सुरक्षामा राज्यले विशेष ध्यान दिनुपर्ने बताए । नेपाल पत्रकार महासंघ सप्तरीका पूर्वसभापति वैद्यनाथ झाले पत्रकारहरूले आफ्नो सुरक्षा आफैं गर्नुपर्ने अवस्था सिर्जना भएको टिप्पणी गरे ।
नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल प्रेस युनियन सप्तरीका अध्यक्ष विनयलाल कर्ण, प्रेस मञ्च नेपाल सप्तरीका अध्यक्ष भूषण कुमार सिंह लगायतका वक्ताहरूले पत्रकार सुरेश रजकको हत्यामा संलग्न अपराधीलाई तत्काल कानुनी दायरामा ल्याउन माग गरे । साथै, सञ्चार गृहमा भएको क्षतिको भरपाई गराउन र घाइते पत्रकारहरूको उपचार सुनिश्चित गर्न सरकारसँग माग गरे ।
नेपाल पत्रकार महासंघ सप्तरीका सहसचिव कृष्ण कुमार मण्डलले गत फागुन १५ गते काठमाडौँमा एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकमाथि भएको नृशंस हत्याले पत्रकारहरूको सुरक्षामा गम्भीर प्रश्न खडा गरेको बताए ।
वक्ताहरूले पत्रकार र सञ्चार गृहको सुरक्षामा सरकारको प्रतिबद्धता कमजोर रहेको भन्दै आवश्यक सुरक्षा उपाय तत्काल अपनाउन जोड दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


