मुखियापट्टीका ११ अवैध विद्यालयमा गाउँपालिकाले लगायो ताला

जनकपुरधाम, १९ चैत । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा स्थानीय तहको अनुमतिबिना अवैध रूपमा सञ्चालन भइरहेका निजी तथा संस्थागत विद्यालयहरूमा गाउँपालिकाले कडा कदम चालेको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम आधारभूत तथा माध्यमिक तहसम्मको शिक्षाको सञ्चालन व्यवस्थापन स्थानीय तहलाई निहित गरिए पनि केही निजी तथा संस्थागत विद्यालयहरूले नियम उल्लंघन गर्दै अवैध रूपमा विद्यालय सञ्चालन गरिरहेको पाइएको छ ।
गाउँपालिकाले यसअघि नै पटक–पटक यस्ता अवैध विद्यालयहरू बन्द गर्न आग्रह गरेको थियो । तर, ती विद्यालयहरूले गाउँपालिकाको निर्देशनको अवज्ञा गरेपछि गाउँपालिकाले चैत १६ गतेको निर्णयअनुसार अवैध रूपमा सञ्चालन भइरहेका ११ वटा विद्यालयहरूमा तालाबन्दी गर्ने निर्णय लिएको हो । गाउँपालिकाले सबै सरोकारवालालाई आवश्यक सहयोग र सहकार्य गर्न आह्वान गर्दै शिक्षाको क्षेत्रमा सुधार ल्याउन प्रतिबद्ध रहेको जनाएको छ ।
मुखियापट्टी मुसहरनिया गाउँपालिका–१ मा सञ्चालित न्यू स्काई इङ्गलिस स्कुल, वडा नम्बर–२ को तराई इङ्गलिस बोर्डिङ स्कुल, वडा नम्बर–३ स्थित चाइल्ड डेभलपमेन्ट एण्ड लर्निङ सेन्टर, गंगालाल शिशु पाठशाला, आर्दश विद्या इङ्गलिस स्कुल, गोल्डेन भ्याली एजुकेशनल एकेडेमी र सेन्ट जेवियर इङ्गलिस बोर्डिङ स्कुल, वडा नम्बर–५ को उज्वल विद्या इङ्गलिस एकेडेमी, वडा नम्बर–६ मा सञ्चालित जिनियस इङ्गलिस बोर्डिङ स्कुल, आराध्या पब्लिक स्कुल र आरोही इन्टरनेशनल एकेडेमी अवैध रूपमा सञ्चालनमा रहेको गाउँपालिका अध्यक्ष जयकुमार यादवले बताए ।

गाउँपालिकाले अभिभावकलाई यी अवैध विद्यालयहरूमा आफ्ना बालबालिका भर्ना नगराउन अनुरोध गरेको छ । साथै, कानुनी रूपले मान्यता प्राप्त विद्यालयहरूमा मात्र विद्यार्थी भर्ना गर्न अभिभावकहरूलाई सचेत गराइएको छ ।
स्थानीय प्रशासनले अवैध विद्यालयहरूको अनुगमन गरी कानुनी प्रक्रिया अगाडि बढाउने बताएको छ । तालाबन्दीपछि विद्यालय सञ्चालकहरूसँग आवश्यक छलफल गरी वैधानिक प्रक्रिया पूरा गर्न निर्देशन दिने तयारी भइरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


