जनकपुरधाम, १८ चैत । जनकपुर–जलेश्वर–भिट्ठामोड सडकखण्ड अन्तर्गत जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. २३ लादोवेलादेखि बिन्धीसम्मको क्षेत्रमा वर्षौंदेखि अतिक्रमण गरेर बनाइएका संरचनाहरू हटाउने काम तीव्र गतिमा अघि बढाइएको छ ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामले उक्त सडकखण्डमा नाला निर्माणसहितको सडक संरचना बनाउनुपर्ने भएकाले अतिक्रमण गरेर बनाइएका घरटहरा हटाउन थालेको हो ।

यस अभियानका बारेमा जानकारी दिँदै हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामका योजना प्रमुख कृष्णकुमार महतोले भने, ‘सडक अतिक्रमण हटाउनका लागि गत माघ २४ गते प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाको अध्यक्षतामा सरोकारवालाको बैठक बसेको थियो । सो बैठकले सडक सीमा क्षेत्र ५० मिटरभित्र निर्माण गरिएका भौतिक संरचनाहरू हटाउनका लागि सूचना प्रकाशन गर्दै सात दिनको समय दिएको थियो ।’

उनले थपे, ‘दिएको समयसीमाभित्र संरचना नहटाएपछि सरोकारवाला निकायको समन्वयमा ती संरचनाहरू हटाउने कार्य तीव्र बनाइएको हो ।’

अतिक्रमण हटाउने अभियान अन्तर्गत अबसम्म सडकको अढाई किलोमिटर दूरीमा दुवै तर्फ अतिक्रमण गरेर बनाइएका संरचनाहरू हटाइएको छ । यसका कारण १ सय किलोमिटर सडक अतिक्रमणमुक्त भएको छ । यस कार्यमा केही स्थानमा प्रहरीको सहायतासमेत लिइएको छ ।

अतिक्रमणका कारण सडकको पानी निकासीमा समस्या उत्पन्न भएको थियो । यसले सडक दुर्घटनाको सम्भावना बढाएको थियो । साथै, सवारी पार्किङ गर्नका लागि पनि कठिनाइ भएको थियो । यस समस्याबारे बढ्दो जनगुनासोको आधारमा अतिक्रमण हटाउने पहल गरिएको प्रमुख महतोले बताए ।