जनकपुरधाम, १८ चैत । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–९ थापाचोकस्थित जनकपुर सिता हस्पिटलका म्यानेजर मधु महतो र बिचौलिया सुभाष मुखियालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई अस्पताल दर्ता नगरी सञ्चालन गर्दै मापदण्ड उल्लंघन गरेको आरोपमा पक्राउ गरिएको हो ।

गत माघ २६ गते मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अनुगमनको क्रममा सो अस्पताल दर्ता नगरिएको र मापदण्ड पूरा नगरी सञ्चालन भइरहेको पाएका थिए । त्यसपछि मुख्यमन्त्री सिंहले अस्पताललाई दर्ता गराएर सञ्चालन गर्न निर्देशन दिएका थिए । केही समय अस्पताल बन्द राखिएको थियो । तर, हालै पुनः अस्पताल सञ्चालनमा ल्याइएको थियो ।

अस्पतालको मुख्यद्वारमा ‘यो अस्पताल अनिश्चितकालको लागि बन्द गरिएको छ’ भन्ने बोर्ड झुण्ड्याइए पनि भित्र भने उपचार भइरहेको थाहा पाइएको थियो । मुख्यमन्त्री सिंह आज एक कार्यक्रमबाट फर्किने क्रममा अचानक सो अस्पतालमाथि उनको ध्यान गयो ।

शंका लागेर उनी अस्पतालभित्र पुग्दा पाँच जना बिरामीहरूको उपचार भइरहेको देखे । त्यसपछि उनले प्रहरीलाई बोलाएर म्यानेजर महतो र बिचौलिया मुखियालाई पक्राउ गर्न लगाएका थिए ।

सो अस्पतालका सञ्चालक डा. प्रमोद यादवसहित अन्य पाँच जना छन् । मुख्यमन्त्री सिंहको कडा निगरानी र कदमपछि अस्पताललाई अनधिकृत रूपमा सञ्चालन गर्ने र मापदण्ड उल्लंघन गर्ने कार्यमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरिएको हो ।
प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।