जनकपुरधाम, १८ चैत । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक भवनको सोमबार शिलान्यास गरेका छन् । जनकपुरधाम–१४ स्थित मणिमण्डप पछाडि रहेको गुठीको १८ बिघाभन्दा बढी जग्गामा निर्माण हुन लागेको यो भवन प्रतिष्ठानका लागि महत्वपूर्ण संरचना हुने बताइएको छ ।

मुख्यमन्त्री सिंहले शिलान्यास समारोहमा बोल्दै भवन निर्माणका लागि साढे २ करोड रुपैयाँको ठेक्का आह्वान भइसकेको जानकारी गराए । उनले निर्माण कार्य तोकिएको समयभित्र सम्पन्न गर्न जोड दिँदै ठेकेदारलाई समयमै काम सक्न निर्देशन दिए । साथै, उनले निर्माण कार्य निर्धारित समयभन्दा अगाडि सम्पन्न भएमा ठेकेदारलाई प्रोत्साहन (इन्सेन्टिभ) दिइने र ढिलाइ भएमा जरिवाना (पेनाल्टी) लगाइने रणनीति रहेको स्पष्ट पारे ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार विनोद यादवका अनुसार प्रतिष्ठानको शैक्षिक भवनसहित अत्याधुनिक कक्षा कोठा, प्रयोगशाला र अस्पतालको संरचना निर्माण गर्ने योजना छ । उनले भवन निर्माणपछि शैक्षिक गतिविधिमा सुधार आउने विश्वास व्यक्त गरे । साथै, अस्पतालको सेवासुविधा विस्तार हुने र यसले मधेश प्रदेशका बासिन्दालाई गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सहयोग पुग्ने धारणा राखे ।

भवनको निर्माणका लागि गुठीको जग्गा चयन गरिएको छ । यसले केही स्थानीयबासीहरूमा चिन्ता उत्पन्न गराएको छ । स्थानीयहरूले उक्त जग्गाबाट बाटो सञ्चालन हुँदै आएको भन्दै भवन निर्माणसँगै बाटो बन्द हुने आशंका व्यक्त गरे ।

तर, जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले कानुनी प्रक्रिया पूरा गरी भवन निर्माण हुन लागेको स्पष्ट पारे । उनले सामाजिक हितका लागि निर्माण गरिने भवनले कुनै पनि समुदायलाई असर नगर्ने दाबी गर्दै भवनको दुवै छेउमा वैकल्पिक सडकको व्यवस्था मिलाइने जानकारी गराए । साथै, उनले स्थानीय बासिन्दालाई सहयोगका लागि आग्रह गर्दै यस परियोजनालाई सफल बनाउन सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता औंल्याए ।

भवन सम्पन्न भएपछि यस प्रतिष्ठानमा विभिन्न चिकित्सा तथा स्वास्थ्य विज्ञानसम्बन्धी अध्ययन कार्यक्रम सञ्चालन गरिने बताइएको छ । मुख्यमन्त्री सिंहले समयमै निर्माण कार्य सम्पन्न गर्न आग्रह गर्दै आगामी दिनमा मधेश प्रदेशलाई स्वास्थ्य र शिक्षामा आत्मनिर्भर बनाउने आफ्नो प्रतिबद्धता पुनः दोहोर्याए ।