धनुषाका पत्रकारहरूद्वारा कालोपट्टी बाँधेर विरोध

जनकपुरधाम, १७ चैत । नेपाल पत्रकार महासंघ धनुषाले आइतबार एक घण्टा कालोपट्टी बाँधेर पत्रकार सुरेश रजकको योजनाबद्ध हत्या र मिडिया हाउसमाथि भएको आक्रमणको विरोध जनाएको छ । महासंघले सबै सञ्चारकर्मीलाई कार्यस्थलमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्न आह्वान गरेको थियो ।
गत शुक्रबार राजावादीहरूको आन्दोलनका क्रममा अराजक समूहद्वारा लगाइएको आगोमा पत्रकार सुरेश रजकको मृत्यु भएको थियो भने अन्य पत्रकारहरू घाइते भएका थिए । घटनासँगै विभिन्न मिडिया हाउसमा आगजनी, तोडफोड र सञ्चार सामग्री हराउने घटनाहरू पनि भएका छन् ।
महासंघले घटनामा संलग्न व्यक्तिहरूलाई शीघ्र पक्राउ गर्न र घटनाको सत्यतथ्य पत्ता लगाउन माग गरेको छ । महासंघ धनुषाका अध्यक्ष पुरन साहले पत्रकार र सञ्चारमाध्यममाथि गरिएको यस्तो आक्रमणलाई प्रेस स्वतन्त्रता र लोकतन्त्रको गम्भीर चुनौतीको रूपमा लिएको बताए ।

पत्रकार सुरेश रजकको हत्या प्रकरणको अनुसन्धानमा नेपाल पत्रकार महासंघ केन्द्रिय समितिले उपाध्यक्ष उमिदप्रसाद बागचन्दको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । समितिको जिम्मेवारी रजकका परिवार र सञ्चारगृहसँग छलफल गरेर घटनाको सही विवरण बुझ्नु हो। समितिमा सचिव रमेश खतिवडा, सोनी शर्मा, प्रकाश धौलाकोटी र वैकुण्ठराज पराजुली रहेका छन् ।
महासंघले सोमबार केन्द्रीय समिति, प्रदेश समिति र शाखा स्तरमा नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ । मंगलबार सरोकारवाला संगठनहरूसँग छलफल गरी आगामी आन्दोलनको कार्यक्रमलाई थप सशक्त बनाउने कार्यक्रम तय गरिएको छ । महासंघले पत्रकार र सञ्चारकर्मीहरूको सुरक्षाका लागि सरकारसँग कडा कदम चाल्नको लागि आह्वान गरेको छ ।
महासंघले पत्रकार सुरेश रजकको हत्या र मिडिया हाउसमा गरिएको आक्रमणलाई प्रेस स्वतन्त्रता र लोकतन्त्रको विरुद्धको आक्रमणका रूपमा लिएको छ ।
महासंघले आगामी दिनमा देशभरका पत्रकारहरूको समर्थनमा थप आन्दोलनहरू र कार्यक्रमहरूको तयारी गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


